काठमाडौं । मकवानपुर–काठमाडौं सदभाव समाजको तदर्थ समिति गठन गरिएको छ । शनिबार काठमाडौंको बुढानिलकण्ठमा भएको प्रथम प्रारम्भिक भेला तथा वनभोज कार्यक्रममा उक्त समाजको तदर्थ समिति गठन गरिएको हो ।
भेलाले बलराम फुयाल (हेटौंडा ४) को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको उपाध्यक्षमा बिनोद दुलाल(हेटौंडा), सचिवमा केदार पन्त (हेटौंडा १७), कोषाध्यक्षमा रश्मी घिमिरे (हेटौंडा), सहसचिवमा सरिता आचार्य (हेटौंडा) तथा सदस्यहरुमा लक्ष्मण बानियाँ ( हेटौंडा १८), अनिता दाहाल(हेटौंडा १६), विष्णुदेव भण्डारी (हेटौंडा १७), दीपा न्यौपाने (हेटौंडा), दिनेश बर्ताैला (थाहा नगरपालिका) र निर्जल घिमिरे (हेटौंडा १८) रहेका छन् ।
मकवानपुर जिल्लाबाट काठमाडौं उपत्यकामा आई विभिन्न पेशा व्यवसाय गर्दै आएका तथा स्थायी बसोबास गर्ने मकवानपुरेहरुको भेलाले समाज गठन गरिएको बताइएको छ । यसैगरी भेलाले अधिवक्ता बसन्तराज फुयाल(बागमती फापरवारी) को संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको छ । समिती सदस्यमा पत्रकार तथा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शन्तराम विंडारी (थाहा टिष्टुङ) र अधिवक्ता भावेश गौतम (हेटौंडा) रहेका छन् । विधान मस्यौदा समितिले कार्य सम्पन्न गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत रुपमा संस्था दर्ता गर्ने सर्वसम्मत निर्णय गरेका छन् ।
‘मकवानपुरमा जन्मिएर काठमाडौंलाई प्रत्यक्ष वा परोक्ष रुपमा कार्यक्षेत्र बनाइ उपत्यकामा बसोबास गर्दै आएकाहरुको तदर्थ समिति गठन गरिएको हो’ हेटौंडा १७ हटिया घर भइ काठमाडौं बस्दै आएका विनोद भन्डारीले भने ‘मकवानपुरेहरुसँग लामो समयदेखि एकआपसमा भेटघाट नभइरहेको अवस्थामा भेटघाट गर्ने, चिनजान गर्ने, वर्षौदेखि सम्पर्कविहीन भएकाहरुबीच पुनर्मिलन गराउने उदेश्यले समाज गठनको पहल गरिएको छ ।’
सामाजिक, सांस्कृतिक तथा मानवीय सदभाव, एकता र आपसी सहकार्य प्रवर्धन गर्न वैधानिक रुपमा सामाजिक संस्था दर्ता गरी भेटघाट तथा सहयोगलाई निरन्तरता दिन प्रारम्भिक भेला गरि तदर्थ समिति गठन गरिएको तदर्थ समिति अध्यक्ष फुयालले जानकारी दिए ।

