मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले राजनीतिक दललाई लामो समय बाहिर राखेर मुलुकमा स्थिरता ल्याउन नसकिने बताएका छन् । मुलुक राजनीतिक दलको नेतृत्वमा अघि बढ्नुपर्ने भन्दै उनले निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताएका छन् ।
सिन्धुली उद्योग वाणिज्य संघको ३५ औं साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले उक्त कुरा बताएका हुन् । “मुलुकको संघीय सरकार लामो समयसम्म जनप्रतिनिधिविहीन हुनु हुँदैन। समयमै निर्वाचन गराएर गैरदलीय सरकार बाहिरिनु पर्छ” उनले भने । जनप्रतिनिधिमूलक सरकार नहुँदाकाे अवस्था हेटौंडाका व्यवसायीले भरखरै भोग्नु परेको उनले बताए । “जनताका प्रतिनिधिहरूको सरकार नहुँदा हेटौंडाका व्यवसायीमाथि प्रहार भयो । यसअघि पनि पटक पटक सडक भत्काउने प्रयास भएको थियो । जनप्रतिनिधिमूलक सरकार लखेटेर नागरिकको नाममा गठन भएको सरकारले समाधानको बाटो नखोजी के गर्यो सबैले देखेकै छौं” उनले भने ।
प्रदेश सरकार गरिब किसान, विपन्न नागरिकलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउँदै उनले शिक्षालाई प्राविधिक सीप दिएर मुलुकमै रोजगार सिर्जना गराउन प्रयासरत रहेको बताए । प्रदेश सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताउँदै उनले आगामी बजेट निर्माणको काम अघि बढ्नु अघि नै प्रस्तावहरू ल्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे ।
कांग्रेस मुख्यसचेतक श्याम घिमिरेले धारा ७६ बाहेक अन्य कुनै पनि धाराले प्रधानमन्त्री बन्न नसक्ने बताए । वर्तमान सरकार संवैधानिक रहेको भन्दै उनले संविधानको उल्लेखसमेत नगरी गरिएको प्रतिनिधिसभा विघटन पनि असंवैधानिक रहेको बताए । मुलुकमा व्यवसायिक वातावरण निर्माण हुन नसकेको भन्दै उनले प्रदेश व्यवसायीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
नेपाली कम्युनिष्ट पार्टीका नेता राजन दाहालले दल कमजोर बनाएर मुलुकलाई द्वन्द्वमा होम्ने षडयन्त्र चलिरहेको बताए । “नेपाललाई युक्रेनजस्तो अवस्थामा पुर्याउन जिलेन्स्कीको खोजी भइरहेको छ । समाजमा द्वन्द्व भित्र्याउन प्रयास भइरहेको छ” उनले भने “मुलुकमा शान्तिसुरक्षाको अवस्था कमजोर छ। हतियार र अपराधी बाहिर राखेर कस्तो निर्वाचन होला ?” उनले जेनजी आन्दोलनपछि व्यवसायिक वातावरण थप बिथोलिएको भन्दै बाह्य लगानी भित्र्याउन पनि नयाँ परिस्थिति निर्माण आउनुपर्ने बताए । “जेनजीसमेतको सहमतिमा संविधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचनमा जानुपर्छ”उनले भने ।
विघटित प्रतिनिधिसभाकी सांसद तथा कांग्रेस सचेतक सुशीला थिङले अहिलेकाे सरकार असंवैधानिक रहेको बताइन् । उनले संसद् भंग गर्नु पनि असंवैधानिक भएको भन्दै त्यसैकारण संसद् पुनःस्थापना हुनुपर्छ भनेर आफूहरू अदालत गएको बताइन् । “समाजमा भाइरल प्रवृत्ति छ, त्यसले समाजलाई ठीक ठाउँमा पुर्याउँदैन । समाज र मुलुक थप दुर्घटनामा जान सक्छ” उनले भनिन् “जसले जे काम गर्ने हो, त्यही नगर्दा अहिले समस्या आएको हो ।”
प्रदेशकाे विशेष प्राथमिकता स्वास्थ्यमा
मुख्यमन्त्री बानियाँले स्वास्थ्यमा नागरिकको सहज पहुँच प्रदेश सरकारको विशेष प्राथमिकता रहेको बताएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले शिक्षा, स्वास्थ्यजस्ता विषयलाई संविधानले नै नागरिकका मौलिक अधिकारको रूपमा ग्यारन्टी गरेको भन्दै उनले प्रदेश सरकार मौलिक अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न तत्पर रहेको बताए ।
“रोगमुक्त समाज, निरोगी नागरिक बनाउन प्रदेश सरकारले काम गरिरहेको छ” मुख्यमन्त्रीले भने । गणतन्त्र गरिबको व्यवस्था भएकाेले युवा शक्तिलाई प्रविधिमैत्री बनाउँदै रोजगारी सिर्जना गरिने उनले बताए । मुलुकभित्रै केही भएन भन्दै असन्तोष बढिरहेकाेमा मुख्यमन्त्री बानियाँले त्यसलाई चिर्दै भइरहेका विकासका कामलाई नागरिकसमक्ष पुर्याउन लागिपर्नु पर्ने बताए । विकासका पूर्वाधारसँगै नागरिकलाई अर्थोपार्जन गर्ने सीप विकास र लगानीसमेत दिनुपर्ने काममा प्रदेश सरकार लागि परेको बताए । उनीहरूलाई सीप र पूँजीको व्यवस्थासमेत गरिदिनुपर्ने हुन्छ हामी त्यसतर्फ अग्रसर छन्,’ मुख्यमन्त्रीले भने ।
मुख्यमन्त्री इन्द्र बानियाँले कर्मचारी संयन्त्रले नागरिकलाई केन्द्रमा राखेर सेवा दिनुपर्ने बताए । सिन्धुलीको तीनपाटन गाउँपालिकामास्थित स्वास्थ्य, शिक्षा, प्रशासनलगायतका सेवाका कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री बानियाँले भने “नागरिकले सेवा पाए मात्र प्रदेश सरकारप्रति विश्वास आर्जन हुनेछ ।” ‘नागरिकलाई कुनै पनि सेवा पाउन कठिनाइ नहोस्, इमान्दारीपूर्वक सेवा दिनुहोला,’ उनले भने, कर्मचारीका समस्या भए हामी समाधान गर्छौं, कर्मचारी साथीहरूले पनि डेलिभरीमा पूर्ण योगदान गर्नुस् । त्यसपछि मात्र हामीले प्रदेश सरकारको महत्व स्थापित गर्न सक्छौं ।’
तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापा मगरले सीमित स्रोतसाधनबीच पनि विकासका पूर्वाधार निर्माणलाई पालिकाले पहिलो प्राथमिकता दिएको बताए । पूर्वाधार विकाससँगै नागरिकलाई सीप विकासमा पनि ध्यान दिइएको अध्यक्षको भनाइ छ । नागरिकको आर्थिक समृद्धिका लागि पालिका भित्र कृषि, पशुपालन जस्ता क्षेत्र पहिचान गरी कार्यक्रम लागू गराइएको बनाए ।
करिब १२ करोड रूपैयाँको लगानीमा नगर अस्पताल भवन निर्माण भएको हो । कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य श्याम घिमिरे, संविधानसभा सदस्य मोहन बराल, नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति उज्वल बराल लगायत सहभागी थिए ।

