मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मानसिक स्वास्थ्य समस्या रोकथामकाे लागि प्रदेश स्तरकाे अस्पतालमा मात्रै सिमित नभइ समुदायमा समेत मनोचिकित्सकहरुलाई खटाउने योजना तय गरेको बताएका छन् । ‘समुदायमै पुगेर परिवारको सदस्यलाइ समेत मनोसामाजिक परामर्श गर्नुपर्छ भन्ने हामीलाई लागेर यो योजना अघि सारेका हौ’ स्वस्थ्यमन्त्री थापाले भने ।
डिप्रेशन र एञ्जाइटी बारे पनि परामर्श आवश्य भएको उनले बताए । ‘शरिरको अंग भाँचिएमा टुटेमा जोड्न सकिन्छ टुटेको मनलाई पनि सहजै जोड्न सकिदैन यसको लागि उचित व्यवस्थापन आवश्यक हुन्छ’ उनले भने ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजना र कोशिश नेपालको सहकार्यमा आत्महत्या रोकथाम विषयक सरोकारवालाबीच प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा उनले यस्ताे बताएका हुन् ।
“आत्महत्या रोकथामबारे सम्वाद सुरु गरौं, दृष्टिकोण बदलौं” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले आत्महत्या न्यूनीकरणका लागि जोखिममा रहेका व्यक्तिहरूले देखाउने सङ्केत पहिचान गर्न अत्यावश्यक भएको बताएका हुन् ।
विश्वभर हरेक वर्ष सेप्टेम्बर १० मा आत्महत्या विरुद्धको दिवस मनाइने भएकाले नेपालमा पनि यसबारे बहुक्षेत्रीय समन्वय, जनचेतना र व्यवहार परिवर्तन आवश्यक रहेको कोशिश नेपालकी थमकुमारी कुवरले बताइन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख चन्द्रकान्त चापागाईंले आत्महत्या रोकथामको वर्तमान अवस्था, सरकारी तथा गैरसरकारी संस्थाहरूको भूमिकालगायत उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरे । राष्ट्रिय मानव अधिकार आयोगका लेखा अधिकृत जितेन्द्र कार्कीले आत्महत्या विश्वका धेरै देशमा १५ देखि ३४ वर्ष उमेर समूहका व्यक्तिहरूको मृत्युको कारण बनेको बताए ।
सामाजिक बहिष्करण, पारिवारिक समस्या, मानसिक स्वास्थ्य समस्या, दीर्घरोग, असहयोगी परिवेश र भावनात्मक तनाव आत्महत्याका मुख्य कारणका रूपमा पहिचान भएका छन् । आत्महत्यासम्बन्धी कारणमध्ये लागुऔषध तथा मदिरा दुरुपयोग, मानसिक समस्या (सिजोफ्रेनिया, डिप्रेशन, मानसाइकोसिस आदि), सामाजिक हिंसा, सम्बन्धविच्छेद, यौन हिंसा, दीर्घरोग तथा आकस्मिक आवेश प्रमुख रहेको कार्यक्रममा छलफल गरिएको थियो ।
बागमती प्रदेश कार्यालयको तथ्याङ्कअनुसार २०८१/८२ आर्थिक वर्षको कार्तिक मसान्तसम्म २९३ जनाले आत्महत्या गरेको प्रस्तुतिमा उल्लेख गरिएको थियो ।
नेपाल प्रहरीका प्रहरी उपरीक्षक मुकुन्द रिजाल तथा स्वास्थ्य मन्त्रालय महाशाखाका प्रमुख दिनेश रुपाखेतीले पनि आत्महत्या रोकथामका कार्यक्रम, उपलब्धि, तथ्याङ्क र आगामी कार्ययोजना सम्बन्धमा क्रमशः कार्यपत्र प्रस्तुत गरेका कोशिश मकवानपुर प्रमुख सुनिरा लामाले बताइन् । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल,प्रदेशका सरकारी निकाय, मानव अधिकार संस्था, सामाजिक सङ्घसंस्था, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका विज्ञ र सरोकारवालाको सहभागिता थियो ।

