मकवानपुर । मकवानपुरगढी गाउँपालिका ४ को मनकामना मन्दिरतिर उकाली लाग्नेहरूलाई पहिला सुन्दर हरियाली, चरीको चिरबिर, चिसो हावाले स्पर्श गर्छ । तर त्यो अनुभूति धेरैबेर टिक्दैन किनकि केही मोड पार गर्नासाथ भेटिन्छ, प्लास्टिकका खोल, पानीका बोतल, बियरका सिसा, र मनभरिको निराशा।
हेटौंडा शहर नजिकैको यो लोकप्रिय गन्तव्य दिनदिनै आकर्षणले होइन, फोहोरले चिनिन थालेको छ । यात्रुको भीड जति बढ्छ, फोहोरको थुप्रो त्यति नै बाक्लिँदै जान्छ। पहिले वनको सुगन्ध आउने ठाउँमा अहिले दुर्गन्धले दिक्दारी थप्छ । मनकामना मन्दिरको चहलपहल, बिहानपख योग गर्ने, चिया पिउँदै सूर्यदय हेर्नेहरूको भीड अझै पनि यहाँ उपस्थित हुछन्। तर ती सबैको अनुभूति बिगार्ने मुख्य तत्व एउटै छ अव्यवस्थित फोहोर।
गन्तव्य आकर्षक छ, तर उंभो लाग्ने बाटोमा थुप्रिएका फोहोरले यात्रुको मनमग्नतालाई विथोल्ने गर्छ । प्रकृतिको मधुरतामा मानवीय गतिविधिले थुप्रेको फोहोर वाधक बनेको छ। हाइकिङ गर्नेहरु, मर्निङ वाक गर्नेहरु, ड्राइ पिकनिकमा आउने समूहले प्याकिङ गरेको प्लाष्टिक, पानीका बोटल, वियरका सिसाहरु तथा कार्टुनहरु फाल्ने गरेको कारण बाटो र प्रतिक्षलयमा फोहोरको डङ्गुर थुप्रिएको छ । जसले गर्दा बाटो मात्रै हैन वातारण दुर्गन्धित भएको छ । वन्यजन्तुको स्वास्थ्य र वातावरणीय स्वच्छतामा असर परेको छ ।
मनकामना क्षेत्रबाट हेटौंडातर्फ मजदुरी गर्न झर्नेहरुले साँझ फर्कदा वियरलगायतको पेय पदार्थ बोकेर उभो लाग्ने र प्रतिक्षालयमा बसेर खाने रमाइलो गर्ने त्यसपछि फोहोर त्यही छाड्ने गर्नाले पनि फोहो बढेको स्थानीय कमल घिमिरेको भनाइ छ । “बाटोमा फालिएका फोहोरले नाकै थुनेर उकालो चढ्नु पर्ने भैसक्यो, पर्यटनकलाई कसरी स्वागत गर्छ यस्तो बाटोले” हेटौंडाबाट नियमित मर्निङ् वाकमा जाने वसन्त थापाले भने ।
पर्यटकीय गन्तव्यमा फोहोर थपिदै गएको प्रति स्थानीय सरकार, स्थानीय सामुदायिक वन, स्थानीय टोल विकास संस्था सबै जानकारी छन् तर फोहोरको दीगो व्यवस्थापनतर्फ भने सबै तै चुप मै चुप छन् । “सम्बन्धित सबैले एक अर्कोको मुख ताकेर फोहोरको व्यवस्थापन नभएको हो” हेटौंडाबाट नियमित मर्निङ वाक जाने पुष्पकल दाहालले भने ।
वनक्षेत्रमा भइरहेको यो प्रदुषणबारे पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समितिले पनि हालसम्म कुनै कार्य नगरेको अध्यक्ष रामहरि चौलागाईले स्वीकार गरे । रोकथामको लागि स्थानीय टोल विकास समूह र वन समिति मार्फत सयुक्त पहल गर्ने अध्यक्ष चौलागाई बताउँछन् । “वन सबैको साझा सम्पत्ति हो, सबैले अपनत्व र जिम्मेवारी लिएर सफा राख्नु पर्छ भन्ने सचेतना जगाउन सकिएको छैन अब हामी पहल गर्छौ” अध्यक्ष चौलागाईले भने ।
यता डिभिजन वन कार्यालय हेटौंडाका वन तथा जैविक विविधता शाखाका वन अधिकृत वसन्तराज गौतम फोहोरको डङ्गुरमा रहेका सिसाले वन्यजन्तुको खुट्टा काट्ने डर बढेको बताउँछन् । “वन्यजन्तुको प्रजनन स्वास्थ्यमा समेत असर पर्न सक्छ, यसलाई निगरानी गर्नको लागि उपमहानगर र मकवानपुरगढी गाउँपालिकासँग समन्वय गर्नु आवश्यक छ, अब पहल गर्छाैं” गौतमले भने “वन ऐन अन्तरगत कारवाही गर्ने तर्फ हाम्रो ध्यानाकर्षण भएको छ ।” यसको लागि समन्वयकारी भूमिका आफूहरुले गर्ने र सबैभन्दा जिम्मेवार स्थानीय तहलाई बनाउने कोशिश गरिने गौतमले बताए ।
वन संरक्षण तथा वातावारणीय स्वाच्छताको पाटोलाई समेत ध्यानमा राखेर आगामी कार्ययोजना बनाउन प्रयास गर्ने उनले बताए । “फोहोरले पर्यटकीय क्षेत्रको शोभामा बाधा पुगेको छ, सरकारी सम्पत्तिको संरक्षणबारे सचेतना जगाउने कार्यक्रम गर्नु पर्ने आवश्यकता बुझेका छौ, तर बजेटको व्यवस्थापन गर्न सकिएको छैन” उनले भने ।
वनमा थुपे्रको फोहोरले पैदलयात्रीलाई मात्रै हैन वन्यजन्तुलाई पनि प्रत्यक्ष असर पारिरहेको छ । “वातावरण त यसै पनि दुर्गन्धित भयो नै, वन्यजन्तु, माटोलगायतमा समेत असर परिरहेको छ” प्रातकालिन हिडाइमा भेटिएका हेटौंडाका यातायात व्यवसायी हरि राउतले भने ।
यहाँ थुप्रेको फोहोरले पानीको स्रोतमा समेत असर परेको छ । यसै वनको खोल्सामा रहेको पानीको मुलबाट संकलन गरिएको मनकामना खानेपानी उपभोक्ता समिति मार्फत वितरण गरिएको पानीमा गत भदौमा हैजाको किटाणु देखा परेको थियो । यहाँबाट वितरण गरिएको पानी हेटौंडा ५ सिंचाइ टोलका झण्डै ५० घरले उपभोग गर्छन । “पानीमा हैजाका किटाणु भेटिएपछि उमालेर वा अन्य विधिबाट शुद्धिकरण गरेर पिउनको लागि उपभोक्तालाई हामीले सार्वजनिक रुपमा सूचना जारी ग¥यौ, फोहोरको कारण धेरै समस्या भएको छ” उपभोक्ता समिति अध्यक्ष कृष्ण प्रसाद देवकोटाले भने ।
फोहोर व्यवस्थापनको लागि एक वर्ष अघि स्थानीय अभियन्ता रविन्द्र गौतमको समूहले बाटो छेउमा फोहोर राख्नको लागि टिनको व्यवस्था गरेको थिए । तर हाल ति डष्टविनहरु नै छैनन् । बाटोको सरसफाइको लागि सचेतनामूलक बोर्डहरु पनि राखेको छ, तर बोर्डभएको मुन्तिर फोहोरका डङ्गुर छन् ।
जम्मा भएका फोहोरलाई व्यवस्थापन गर्नको लागि मकवानपुरगढी गाउँपालिका वडा ४ ले पनि केही योजना बनाएको छैन । स्थानीयलाई सेचेत गराएर मात्रै वनक्षेत्र र बाटोको फोहोर कम हुने देखिदैन, पैदलयात्री कहाँबाट आउँछन् फोहार फाल्छन्, हाम्रो निगरानी र नियन्त्रणभन्दा बाहिर भएकोले हामी पनि तनावमै छौ” वडा ४ का अध्यक्ष अजुर्न प्रसाद तिमल्सिनाले भने ।फोहोरको दीगो व्यवस्थापनको लागि केही कार्ययोजना हाल नबनेको उनले पनि स्वीकारे ।
फोहोर दीगो व्यवस्थापनको योजना नभएपछि हेटौंडा उपमहानगरपालिकाले समय समयमा आफ्नो सफाइकर्मीहरु मार्फत फोहोर संकलन गरेर उपमहानगरको फोहोर डम्पिङसम्म लैजाने गरी आगामी दिनमा काम गर्ने महाशाखा प्रबन्धक जगन्नाथ सापकोटाले बताए ।
किसानको आम्दानीको थलो
पर्यटकीय गन्तव्य मनकामना, स्थानीय किसानको आम्दानीको थलो पनि हो । मन्दिरको आसपासमा पूजा सामग्रीका पसलहरु मात्रै हैन विहानीका खाजाका परिकारहरुले भरिएका पसलहरु पनि छन् । “ल है चिया, कफि, सेल रोटी, चप के लिनुुहुन्छ” धुँवाले रसिला भएका आँखा मिल्दै ४७ वर्षिया विष्णुमाया पुडासैनीले भनिन् । विहान केही घण्टा यहाँ व्यापार गरेर गाईवस्तुलाई घाँस सोतर गर्न जान्छिन् विष्णुमाया ।
विष्णुमायाकै छाप्रे होटलसँगै छ सरला आचार्यको तरकारी पसल । यहाँ सरलाजस्तै सयौले आफ्नो बारीको तरकारी, फलफूल बेच्छन् । “साँझ बारीबाट संकलन गरेर ल्याउँछु, बाहिर सित पर्ने ठाउँमा राख्छु, विहान झिसमिसेमै यहाँ ल्याउने हो, एक डेढ घण्टामा सबै सकिन्छ” सोममाया लामाले भनिन् । आफूले उब्जाएको साग, सिमीलगायतको तरकारी, भोगटे, हलुवाबेद, बेच्न राखेकी छिन् सोममायाले । पिप्ले पोखरा सामुदायिक वनको काखैमा छ मनकामना पैदल मार्ग । यहाँ पैदल यात्रा गर्नकै लागि हेटौंडाको विभिन्न स्थानबाट यात्रुहरु आउँछन् । हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाबाट विशेषगरी दुइपाङ्ग्रे सवारीमा मनकामना पैदल मार्गको फेदीसम्म आइपुग्छन् । सिंचाइ कुनामा सवारी पार्किङपछि तय गर्छन ।
आफ्नो उकालीको पैदल यात्रा । सामुदायिक वनको हरियाली, चराचुरुङीको चिरविर, बाँदर र डेडुहरुको लुकामारी अनि मृग र चित्तलहरुको चरण नियाल्दै उकाली चढ्नुको मज्जा आनन्दमय रहेको बताउँछिन् हेटौंडा ८ कि गंगा लामिछाने ।
मनकामना मन्दिरको आसपास हर विहानी निकै चहलपहल हुन्छ, शनिबार भीड अझै बाक्लिन्छ । मन्दिर दर्शन र प्रातकालिन हिडाइमा सहभागी हुनेहरुको रौनकले सानोतिनो मेलाकै आभाष दिन्छ यहाँ । हेटौंडा उपमहानगरपालिका वडा न. ५ सिँचाइकुना, वडा ५ राइटोल, वडा २ सामरी पुललगायतबाट मर्निङ वाकको लागि सिँढी र स्ल्याब बाटोको व्यवस्था छ । मकवानपुरगढी ५ धादिङ, भालुखोला, मक्राञ्चुलीबाट पनि सुविधायुक्त बाटो बनेपछि यस मन्दिरमा आउनेहरु बढेका छन् । मन्दिरबाट सूर्यदयको रमणीय दृश्य हेर्न पाइन्छ । गर्मिमा चल्ने चिसो हावाले पैदल यात्रीलाई आराम दिन्छ भने चिसो मौसममा पनि यहाँको मोह घट्दैन ।
विहानीको उषामा मात्रै हैन साँझ पनि यहाँको भीड उस्तै हुन्छ, साँझमा मन्दिरको प्राङ्गणामा बसेर हेटौंडा बजारको झिलिमिलि हेर्न झनै मज्जा हुन्छ । दिउँसो भने वनभोज खानेहरुको चहलपहल हुन्छ ।
पिप्ले पोखरा सामुदायिक वनको हरिया र मनोरम दृश्यमा रमाउनेहरु यहाँ डूइ पिकनिकको लागि आउने गर्छन । उकालीको विभिन्न बिसौनीहरुमा प्रतिक्षालयको व्यवस्था गरिएको छ । थकान बसौनीको लागि उपमहानगरपालिकाले सिमेन्टको बेञ्च व्यवस्था गरेको छ । कतै समथर, कतै उकालो, कतै सिंडी, कतै प्रतिक्षालय, अनि कतै पिकनिककै लागि व्यवस्थित स्टलहरु पानीको धाराहरुको व्यवस्था छ ।

