बारा। बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शान्ति सुव्यवस्था कायमकाे लागि कर्फ्यु आदेश जारी गरेका छन् । नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहको तोडफोडलाई रोक्न कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ ।
२०८२ मंसिर ३ गते मध्यान्ह १२:३० देखि राति ८:०० बजे सम्म लागू हुनेछ। कर्फ्यूको अवधि भित्र सार्वजनिक स्थानमा आवागमन र सवारी साधनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। कर्फ्यूको मुख्य उद्देश्य सुरक्षा व्यवस्था सुदृढ गर्नु र सामाजिक दुरुत्साहनको नियन्त्रण गर्नु रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।
स्थानीय प्रशासनले कर्फ्यूको समयमा सार्वजनिक सेवा र आपतकालीन कार्यवाहिका लागि विशेष अनुमति दिएको छ। आदेश उल्लङ्घन गरेमा कानूनी कारवाही गरिने चेतावनी पनि जारी गरिएको छ।
नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका थिए । उनीहरुमध्ये केहीलाई प्रहरीले पछि बाहिर निकालेको थियो ।
बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली बारा आउने कार्यक्रम थियो । नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएको थियो । त्यसपछि आक्रोशि समूह एमाले नेताहरु विमानस्थल आउन लागेको सूचना पाएपछि विमानस्थलको गेट फुटाउँदै भित्र प्रवेश गरेका थिए । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
अनलाइन खबरको सहयोगमा

