मकवानपुर । नेकपा (एमाले) मकवानपुरले शनिबार शक्ति प्रदर्शनी गरेको छ ।
देशब्यापी कार्यक्रम अनुसार मकवानपुरको हेटौंडामा पनि शक्ति प्रदर्शन गरेको हो । मकवानपुरको १० वटै स्थानीय तहबाट आएका नेकपा एमालेका कार्यकर्ताहरुले हेटौंडाको लोकतान्त्रिक चौरमा सभा गरेको थियोे ।
सभामा पार्टी प्रदेश इन्चार्ज राजन भट्टराई, जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रिय सदस्य महेश बर्तौलालगायतले सम्बोधन गरे । जिल्लाको ४ दिशाबाट मोटरसाइकल र्याली मार्फत कार्यकर्ता हेटौंडा आएका थिए ।
सम्बोधन गर्ने बक्ताहरूले विघटित प्रतिनिधिसभा पुनःस्थापना र जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गरे ।
हेटौंडामा उत्तरी क्षेत्रका एमालेका कार्यकर्ता मोटरसाइकलमा सामरी पुलबाट, दक्षिण क्षेत्रका एमालेका नेता कार्यकर्ताहरु हेटौंडाको कर्रापुल तर्फबाट, पूर्व क्षेत्रका नेता कार्यकर्ताहरु फुर्केचौर क्षेत्रबाट र पश्चिम क्षेत्रका एमालेका नेता कार्यकर्ताहरु राप्ती पुल हुँदै हेटौंडाको मुख्य बजारमा मोटरसाइकल र्याली सहित प्रवेश गरेका एमाले मकवानपुर उपाध्यक्ष हिदम लामाले बताए ।
हेटौंडाको हुप्राचौरमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय नेता समेत रहेका डाक्टर राजन भटराइले राष्ट्रियताको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताए । भट्टराईले देशको राष्ट्रियतासँगै लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताए । राष्ट्रियताका रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने भन्दै देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जनताले जोगाउन सक्ने उनले बताए।
जेनजी आन्दोलनकै कारण पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ भने प्रतिनिधि सभा विघटन गरिएको छ। फागुन २१ गते प्रतिनिधि सभा चुनावको घोषणा गरिएको छ। तर, एमालेले भने प्रतिनिधि सभा विघटनको विरोध गर्दै त्यसलाई पुनर्स्थापना गर्नुपर्ने जिकिर गरिरहेको छ।
यसैबीच एमाले र्यालीमा पेट्रोल बांडिएको भन्ने भ्रामक हल्लाको पछि नलाग्न पार्टीले सर्वसाधारणलाई अनुरोध गरेको छ। नक्कली छाप राखेर ३ लिटर र ९३ लिटर लेखिएको अध्यक्ष उल्लेख्य गरि छाप लगाएको कागजको टुक्रा पार्टीको बदनामको लागि सामाजिक संजालमा भाइरल गराइएको छ । जसमा मिति समेत एक बर्ष पछिको उल्लेख्य छ ।

