मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्षले व्यक्तिगत लगानीमा गाउँपालिकामा सडक स्ल्याब ढलान गरिदिने भएका छन् । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नै लगानीमा गाउँपालिका-२ स्थित कर्मचोकदेखि वडा कार्यालय जाने सडक स्ल्याब ढलान गरिदिने भएका हुन्।
६ मिटर चौडाई र २ सय मिटर लम्बाईको उक्त सडक ढलानका लागि अध्यक्ष कालाखेतीले शनिबार प्राविधिकबाट लागत अनुमान (स्टिमेट) तयार गराएका छन्। स्टिमेट अनुसार सो सडक स्ल्याब ढलान गराउन २० लाख रुपैयाँ खर्च हुनेछ।
शनिबार मनहरी २ कर्मचोकमा अध्यक्ष कालाखेतीले अबको केही दिनभित्रै सडक स्ल्याब ढलानको काम सुरु गरिने जानकारी दिए। ‘जेनजी आन्दोलनपछि गाउँपालिकामा भएको भौतिक क्षतिका कारण बजेट कटौती हुँदा केही विकासे आयोजनाहरू समेत कटौतीमा परेका छन्’ उनले भने ‘स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै निजी खर्चमै सडक स्ल्याब ढलान गराउन लागिएको हाे ।’

