मकवानपुर । मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु आन्दोलित छन् । सेवाकाे सुरक्षा तथा ताोकिएकाे न्यनतम पारिश्रमिकमा समानतालगायतका माग गर्दै उनीहरुले बुधबार २ घण्टा नर्सिङ सेवा बन्द गरेका हुन् ।
आन्दोलनकाे क्रममा अत्यावश्यक बाहेकका सेवा बुधबारदेखि १८ कात्तिकसम्म विहान २ घण्टा सेवा वन्द गरिने भएकाे छ । नेपाल नर्सिङ संघको राष्ट्रव्यापी आन्दोलनको आह्वान अनुसार, नर्सहरुले आफ्ना मागहरू पूरा गराउन दबाब दिँदै बिहान १० बजेदेखि १२ बजेसम्म काम रोकेर विरोध प्रदर्शन गरेकाे नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालले बताइन् । संघको पूर्वनिर्धारित कार्यक्रमअनुसारकाे यो आन्दोलन दोस्रो चरण भएकाे उनले जानकारी दिइन् ।
१८ गतेसम्म पनि माग सुनुवाई नभए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यदलको प्रतिवेदनअनुसार आन्दोलनका कार्यक्रम थप गर्ने पनि अध्यक्ष दाहालले बताइन् । यसअघि गत कात्तिक ४ गतेदेखि ११ गतेसम्म मकवानपुरका नर्सहरुले हेटौंडा अस्पताललगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा हातमा कालोपट्टी बाँधेर सेवा प्रदान गरेका थिए ।
नेपाल नर्सिङ संघले गत २ कात्तिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न मागहरु राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।मन्त्रालयले गत २ कात्तिकमा नेपाल नर्सिङ संघले पेश गरेको माग पूरा गर्ने सम्बन्धमा कार्यदल बनाएकाे थियाे । अबको एक हप्ता कार्यदलकाे प्रतिक्रिया कुर्ने तथा माग सुनुवाइमा नभए आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने संघ मकवानपुर उपाध्यक्ष निर्मला ब्लोनले जानकारी दिइन् ।
नर्सहरुको आन्दोलन मुख्यतया निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको श्रम शोषण विरुद्ध केन्द्रित रहेको बताइएकाे छ । निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्सहरुको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सेवामा कार्यरत सरह हुनुपर्ने माग रहेको उनले बताइन् । सरकारले नर्सहरुको न्यूनतम तलब पाँचौं तहकाे लागि ३४ हजार ७३० रुपैयाँ तोकेको छ । तर धेरै जसो निजी संस्थाहरुले अत्यन्तै न्यून पारिश्रमिकमा काम लगाइरहेको बताइन्छ ।
संघले दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गरिनुपर्ने, रात्रिकालीन वा सार्वजनिक वा चाडपर्व बिदाको दिनमा काम गरेबापत सरकारी, निजी तथा शिक्षण अस्पतालमा अतिरिक्त तथा जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, योग्यता र अनुभवको आधारमा स्तरवृद्धि तथा बढुवाको व्यवस्था हुनुपर्ने, ग्रेडको व्यवस्था हुनुपर्ने, औद्योगिक नर्सको व्यवस्था हुनुपर्नेलगायत १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम सुरु गरेकाे उपाध्यक्ष ब्लोनले जानकारी दिइन् ।

