मकवानपुर । जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गत २४ भदाैकाे घटनालाई पूर्ण फौजदारी अपराधको संज्ञा दिँदै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मङ्गलबार आयोजित भदौ २३ र २४ को घटनाको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । गत २३ भदौको घटना आन्दोलन र २४ भदौको आगजनी तथा लुटपाटका फरक–फरक प्रकृतिको घटना भएको बताएका छन् । ‘२३ गतेको घटना आन्दोलनको रुपमा भयो तर २४ गतेको घटना आगजनी, लुटपाट र डकैतीसहितको पूरै फौजदारी अपराध हो, यसमा कुनै विवाद छैन’ उनले भने ।
आयोगकाे तर्फबाट प्रहरीलाई आफ्नो कानुनी अधिकार प्रयोग गरेर अनुसन्धान गर्न आयोगले पहिले नै भनिसकेकोले ढिलाइ हुन नहुने उनले बताए । ‘यो घटना सबैले देखेको र आयोगले सोहीअनुसार छानबिन गरिरहेको छ । फौजदारी कसुरको अनुसन्धान गर्ने काम नेपाल प्रहरीको हो। हामीले घटनाको समग्र छानबिन गरी दोषीमाथि अनुसन्धान र कारबाही गर्न सरकारलाई सिफारिस गर्ने हो ’ उनले भने ।
उक्त घटनाबाट भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न सरकारी कार्यालय, सर्वोच्च अदालत, संवैधानिक निकाय, उद्योगी–व्यवसायी र सर्वसाधारणबाट विवरण माग गरिएको उनले बताए । ‘क्षतिपूर्तिको दाबी प्राविधिक रूपमा प्रमाणित हुनुपर्छ’ उनले भने । ‘हामीले सबै क्षेत्रबाट क्षतिको विवरण माग गरेका छौँ र व्यक्तिगत रूपमा पनि नोक्सानी बेहोरेकालाई फाराममार्फत आवेदन दिन भनेका छौँ । घर जल्यो भनेर एक करोडको क्षति भयो भन्दैमा हुँदैन । त्यसको आधिकारिक निकायबाट प्राविधिक मूल्याङ्कन हुनुपर्छ ताकि भोलि अदालतमा पनि प्रमाण पुगोस’ उनले भने ।
आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका सम्बन्धमा वर्तमान कानुन अपर्याप्त रहेको अध्यक्ष कार्कीले जानकारी दिए । उक्त विषय समाधानका लागि विशेष अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएको उनले बताए । आयोगले कुनै पनि व्यक्ति वा पक्षलाई हेरेर नभई निष्पक्ष रूपमा काम गर्न प्रतिबद्ध रहेको अध्यक्ष कार्कीले बताए ।
‘भ्रष्टाचारी हो भन्दैमा कसैको घर जलाउन पाइँदैन। अपराधी हो भनेर हामी आफैँले काट्न–मार्न पनि पाइँदैन । त्यसका लागि कानुन छ । कानुनबमोजिम कारबाही हुनुपर्छ,’ उनले भने । उच्च मनोबल राख्ने गरी प्रहरीलाई काम गर्ने वातावरण बनाउन र उनीहरुले गरेका सही कामलाई सबैले समर्थन गर्नुपर्ने उनले बताए । आयोगले घटनासँग सम्बन्धित प्रमाण भए उपलब्ध गराएर सहयोग गर्न समेत जनाकारी गराएकाे छ ।

