मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको राशी बढ्ने भएकाे छ । १५ हजार रुपैयाँ रहेको उक्त पुरस्कारको राशी बढाएर ५० हजार रुपैयाँ पुर्याइने घोषणा शुक्रबार पुरस्कार संस्थापकले गरेकाे छन् ।
पुरस्कार संस्थापक चिरञ्जीबी ढकालले हेटौंडामा आगामी वर्षदेखि पुरस्कार राशी ५० हजार रुपैयाँ पुर्याउने घोषणा गरेका हुन् । हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाटमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक समेत रहेका ढकालले उक्त पुरस्कारकाे राशी बढाउने घोषणा गरेका हुन् । अव मकवानपुरे पत्रकारिता क्षेत्रमा उक्त पुरस्कार सर्वाधिक नगद राशीको पत्रकारिता पुरस्कार हुनेछ । यस पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन् ।
भेटघाटकामा ढकालले पत्रकारहरुलाई संगठित हुँदै व्यावसायिक नेतृत्व विकासमार्फत पत्रकारितालाई अझ सशक्त बनाउनुपर्ने बताए । उनले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सम्मान सुदृढ गर्न युनियनको भूमिकाको प्रशंसा गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास विडारीले ‘मकवानपुरको पत्रकारिता क्षेत्रमा यो एक ऐतिहासिक क्षण भएकाे बताए । ‘पत्रकारितालाई मुल पेशा बनाई आफ्नो कर्ममा निरन्तर लागिरहेका मकवानपुरका पत्रकारहरुलाई नगद ५० हजार सहित सम्मान गर्न पाउनु हामी युनियनकर्मीका लागि समेत गर्वको विषय हो’ उनले भने ।
‘यसले पत्रकारिता क्षेत्रमा लागिरहेकालाई प्रोत्साहन गर्ने र संस्थागत विकासमा समेत टेवा पुग्ने हामीले विश्वास लिएका छौं’ विडारीले भने । उक्त पुरस्कार प्रेस युनियन मकवानपुरको मात्र नभई मकवानपुरे पत्रकारहरूको पुरस्कार हुने उनले बताए । युनियनले उक्त पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्ने अध्यक्ष बिडारीले जानकारी दिए । ‘युनियनले स्थापना गरेको अरु तीनवटा पुरस्कार रहेको छ । हामी अन्य तीनवटा पुरस्कारलाई साधारणसभा र अधिवेशनको समयमा वितरण गर्नेछौं’ उनले भने ।
युनियनले प्रदान गर्ने सम्मानलाई विशेष कार्यक्रमको आयोजना गरी वितरण गर्ने बताइएकाे छ । अध्यक्ष विडारीले आन्तरिकरुपमा कार्यविधि निर्माण गरेर मकवानपुरे पत्रकारलाई विशेष प्राथमिकतामा राखेर पुरस्कार वितरण गरिने बताए ।

