मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देलले राजासहितकाे प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनु पर्ने बताएका छन् । राप्रपा मकवानपुरले बिहीबार आयोजना गरेकाे कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘अहिलेकाे अवस्थामा रहेकाे राष्ट्रपतिको ठाउँमा राजा रहँदा संवैधानिक भएर बस्छन्’ उनले भने ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीले शासन चलाइरहँदा राजा आफैं प्रत्यक्ष शासन गर्न आउने सम्भावना हुँदैन ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीकाे वकालत गर्दै आएकाे बताए ।
‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुँदा एउटै व्यक्ती सरकार प्रमुख र राष्ट्र प्रमुख हुने हुँदा सरकार तानाशाही बन्न सक्छ’ उनले भने ‘हाम्रो जस्तो भूराजनीतिक संवेदनशीलता भएको हामीले राष्ट्रपति होइन प्रधानमन्त्री चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भनेका छौं ।’ नियन्त्रण र सन्तुलनको व्यवस्था सहित सबैले जित्ने बाटोमा हिड्न खोजिराखेको छौं’ उनले भने ।
‘एमाले र काँग्रेसकाे गठबन्धन सरकार बनेपछि नै सबै उच्च पदस्थ नेता, कर्मचारी उनीहरुका नातेदार र निकटका मानिसहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै आएका थियौं’ उनले भने ‘सम्पत्ती छानविन सबै भन्दा पहिले राप्रपाको अध्यक्षबाट सुरु गर्न समेत सरकारलाई भन्यौ ।’ उक्त सरकारले सम्पत्ती छानविनकाे काम सुरु नै नगरेकाे उनले बताए । ‘देशले अवस्था परिवर्तन गर्न व्यवस्थामा पनि परिवर्तन हुनु पर्छ’ उनले भने । भ्रष्टाचार राज्यकाे अपराध भएकाेले भ्रष्टाचारमुक्त राज्यको लागि पार्टीले खबरदारी गर्दै आएकाे उनले बताए ।
कांग्रेस, एमाले, माओवादी पार्टीका धेरैले सत्ताको आडमा तल माथि गरेका थिए उनीहरुले आफूले गरेको गल्तीको कारण समाजमा मुख देखाउने अवस्था छैन’ उनले भने । अहिले पार्टीकाे विचारसहित आफ्ना कुराहरू राख्ने वातावरण बनेको बेला सबैलाई सक्रिय भनेर समाजमा सद्भाव बनाइराख्न उनले कार्यकर्तालाई निर्देशन दिए । उनले भने ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डाको पक्षमा अझै मजबुत ढंगले जनतालाई बुझाउने काममा लाग्न र हाम्रो नियमित अधिवेशनका कामहरु सम्पन्न गर्न आग्रह गर्दछु ।’
हामीले भनेको दिशामा मात्रै देश गएको बताउँदै उनले सबै राजनीतिक शक्तिहरूको बीचमा एउटा राष्ट्रिय सहमति हुने जानकारी दिए । ‘राजसंस्थाको अभावमा देशमा उत्पन्न हुने अवस्थालाई देशले धान्न सक्दैन’ उनले भने ‘यो भन्दा जोखिम देशले उठाउन नसक्ने भएकाेले हामी सबैको बीचमा एउटा सहमतिको आवश्यकता छ ।’ परेको बेला हामीले चिड्याउने होच्याउने देखिस भन्ने होइन सुदृढ राष्ट्रियताको पक्षमा रहनु पर्ने उनले बताए । ‘हामी सदैव भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा रहन्छौँ। सुदृढ राष्ट्रियताको पक्षमा रहन्छौं’ उनले भने ।
राप्रपा मकवानपुर जिल्ला उपाअध्यक्ष अर्जुन गौतमकाे सभाध्यक्षमा भएकाे कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य सीता थापा, रामहरी न्यौपाने, जिल्ला सचिव गुन्जनराज न्यौपाने लगायत उपस्थित थिए ।

