मकवानपुर । पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुर्चुङ्गा टिभी अफिसियल युट्युब च्यानल मार्फत् गीतको भिडियो सोमबार सार्वजनिक गरिएको हो ।
किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतमा गायक पुडासैनीलाई बिना राईले साथ दिएकी छिन् । भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय रहेकाे छ । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।
गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ । प्रेममा पर्ने युवायुवतीहरुको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव र पछुतोको गहिरो अनुभूतिलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।गीतको शब्द र संगीतमा प्रेमले ल्याउने मिठास मात्रै होइन, टुटेको सम्बन्धपछि आत्मा भित्र बज्ने मौन र तितो सङ्गीतलाई झल्काइएको गायक पुडासैनी बताउँछन् ।
गीतलाई युवापुस्ताको मनोदशा र यथार्थ प्रेमकथाको अभिव्यक्तिको रुपमा चित्रण गरिएको छ । विछोडपछिको पश्चाताप पनि कहिलेकाहीँ प्रेमकै गहिरो प्रमाण बन्छ भन्ने शन्देश बोकेको यस गीतलाई आजको युवा पुस्ताको कथाको रुपमा हेरिएको छ ।

