मकवानपुर । अविरल वर्षाका कारण अवरुद्ध हेटौंडा काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडकखण्ड सञ्चालनमा आएको छ। उक्त सडक खण्ड संघीय राजधानी काठमाडौंलाई प्रदेश राजधानी हेटौंड जोड्ने वैकल्पिक मुख्य मार्गहरूमध्ये एक हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिक डोडारे खोलले सडकको केहि भाग कटान गरेपछि अवरुद्ध उक्त सडक मर्मतपछि सोमबारबाट सञ्चालनमा आएको हो । यस्तै सोही सडक खण्ड अन्तर्गत दक्षिणकाली मन्दिर नजिकै गएको पहिरो पनि पन्छाइएको प्रहरीले जनाएको छ ।
डोडारे खोलाले बगाएको सडक दुई दिन लगाएर मर्मत गरिएको प्रहरी कार्यलयले जनाएको छ । उक्त सडक सञ्चालनमा आएपछि काठमाडौं जाने सवारी साधनलाई सो मार्ग हुँदै पठाउन थालिएको छ । अब हेटौंडाबाट काठमाडौं जानकाे लागि पुर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कुलेखानी – फाखेल – फर्पिङ तथा कुलेखानी – सिस्नेरी – दक्षिणकाली – फर्पिङ सडकमार्ग सञ्चालन भएका थिए ।
कान्तिलोकपथ अझै अबरुद्ध
हेटौंडा – ठिंगन – भट्टेडाँडा – सातदोबाटो जाने कान्तिलोकपथ अझै अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार कान्तिलोकपथ अन्तर्गत भीमफेदी वडा नम्बर ८ वगुवा खोलानजिक खसेको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।
उक्त स्थानमा डोजर परिचालन गरी माटो र ढुंगा हटाउने काम भइरहेको तथा सोमबार अबेरसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएकाे छ ।

