मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । सामाजिक संजाल मार्फत राजिनामा घोषणा गरेका सभामुख पाठकले उपसभामुख अप्सरा चापागाईंलाई सम्बाेधन गर्दै लिखित राजीनामा बुझाएका हुन् ।
राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने भन्दै उनले राजीनामा दिएका हुन् ।
उनले उपसभामुख चापागाईंलाई लेखेको पत्रमा लेखिएको छ, ‘भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरें । तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’
पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएका थिए । २८ पुस २०७९ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादी समेत गरी ६४ मत सहित प्रदेश सभाकाे सभामुख निर्वाचित भएका थिए ।

