मकवानपुर । आमाेद किशाेर दाहाल एक राष्ट्रसेवक कर्मचारी हुन् । आमबुझाइमा केही गलत धारणा छन् कि कर्मचारीहरु तलबकाे लागि मात्रै काम गर्छन् सरकारप्रति बफादार छैनन् भन्ने ।
तर दाहालले यो धारणा राख्नेको आँखा खाेल्ने उदाहरण व्यवहारमा देखाएका छन् । पाेखरा,कास्की स्थायी ठेगाना भएका उनले पाेखरा, कास्की गण्डकी प्रदेश निजामती सेवामा २०७४ मंसीर २९ गते नेपाल न्याय सेवाकाे कानून समूहमा कानून अधिकृत पदमा सेवा प्रवेश गरे । आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदुर पश्चिम प्रदेशमा उपसचिव (कानून) पदमा कार्यरत उनले २४ भदौमा भएको जेनजी आन्दोलनमा एक्लै प्रदर्शनकारीहरुसँग हात जोडेर बिन्ति बिसाउँदै मन्त्रालयकाे सुरक्षा गरे ।
निजामती ड्रेसमा कार्यलय पुगेका दाहाल आफ्नो मन्त्रालय ताेडफोड तथा आगजनी गर्न आएका प्रदर्शनकारीसँग एक्लै अनुनय विनय गरिरहे । उनकै प्रयासमा मन्त्रालय पूर्ण रुपमा क्षति हुनबाट बच्यो । ‘मैले एक्लैले सकेकाे प्रयास गरे, थाेरै जल्यो, मन्त्रालय मेराे तलब खाने अड्डा मात्रै हैन देशकाे सम्पत्ति हाे मैले रक्षा गर्नै पर्छ भनेर प्रयास गरेकाे हुँ’ उनले भने । आगजनीबाट मन्त्रालयकाे भुइतल्लामा केही क्षति भए पनि दोस्रो तल्ला पूर्ण रुपमा सुरक्षित रहेकाे छ । धेरै जसो कागजपत्र दोस्रो तल्लामै रहेकाे बताइएकाे छ ।
इमान्दारिता,नैतीकता, देश प्रेम र लगनशीलताले याे साहस जन्मिदाे रहेछ भन्ने उदाहरण बनेका छन् दाहाल । प्रदर्शनकारीकाे भिड देखेपछि सारा समाजसेवी, बुद्धिजीवी,कर्मचारीहरू अनुकरणीय व्यक्तित्वहरू, दल र तीनका कार्यकर्ता साथै सुरक्षाकर्मीले समेत हात उठाइसकेकाे अवस्थामा एक्लै जीवनकाे प्रवाह नगरी हाेमीएकाे देखेर आफूलाई समेत गौरव लागेकाे उनका समकक्षि बागमती प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी एवम् कानून अधिकृत प्रकाश चापागाईंले बताए ।
प्रदर्शनकारीको आक्रमण सुरु भएपछी मन्त्रालयका अन्य कर्मचारीहरु भागेका थिए । दाहालले भने अन्तिमसम्म भिडमा आफूलाई उभ्याइरहे र अनुनय गरिरहे जुन भिडियो अहिले सामाजिक सञ्जालहरुमा पनि देख्न सकिन्छ ।

