मकवानपुर । मकवानपुर प्रहरीद्वारा जेन–जी आन्दोलनको समयमा चोरी र लुटपाट गर्नेहरुको फोटो र भिडियो पठाउन अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले राष्ट्रव्यापी आन्दोलनका क्रममा हेटौंडा तथा जिल्लाका अन्य स्थानहरूमा भएका चोरी, लुटपाट तथा डकैती गरिएका सामान फिर्ता गराउन सर्वसाधारणसँग सहयोगकाे आग्रह गरेकाे हाे । यसैगरी उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान भए प्रहरीलाई सम्पर्क गर्न समेत भनिएकाे छ ।
मकवानपुर प्रहरीका अनुसार जेन-जी आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी चौकी, स्टेशन तथा विभिन्न सरकारी कार्यालय, प्रतिष्ठान, व्यापारीक भवन, भाटभटेनी र व्यक्तिगत घर तथा पसलबाट विभिन्न नगद तथा जिन्सी वस्तु, प्रहरी पोशाक, सवारी साधन तथा अन्य सरकारी र निजी सम्पत्ति हराएको वा चोरी गरी लगिएकाे सूचना प्राप्त भएकोले तत्काल फिर्ता गर्नका लागि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
चोरी गरिएका सामग्री जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहतका कार्यालय वा सम्वन्धित सरकार कार्यालय वा व्यक्तिलाई तुरुन्त फिर्ता गर्न प्रहरीकाे अनुरोध गरेकाे छ । प्रहरीका अनुसार फिर्ता नगर्ने व्यक्तिहरूविरुद्ध प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने छ । साथै, चोरी तथा लुटपाटको प्रमाण फोटो र भिडियोको लिङ्क राख्ने जो कोहीले ती प्रमाणहरू dpomakwanpurcdr@gmail.com मा पठाउन अनुरोध गरिएको छ ।
प्रहरीले फोटो र भिडियो पठाउने व्यक्तिहरूको नाम, ठेगाना र अन्य व्यक्तिगत विवरण गोप्य राखिने र ती सूचनाहरू मात्र अनुसन्धानमा उपयोग गरिने जानकारी दिएको छ। प्रहरीकाे सूचनामा शान्ति, सुरक्षा र अन्याय विरुद्धको कानुनी प्रक्रियालाई अघि बढाउन जनताको सहयोग अनिवार्य रहेको भनिएको छ।

