मकवानपुर । मकवानपुरबाट १६६ जना कैदीबन्दी नियन्त्रणमा लिइएको छ । देशका विभिन्न कारागार तथा बाल सुधारगृहबाट भागेकाहरु मध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरूलाई मकवानपुरको विभिन्न स्थानबाट नियत्रणमा लिइएकाे हाे ।
भिमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दी मध्ये ७८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरीका अनुसार भिमफेदी कारागारका ३६२ जना कैदीबन्दी अझै फरार रहेका छन् । भिमफेदी कारागारमा एक नाबालकसहित कुल १ हजार ६६ जना कैदीबन्दी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जनाकारी दिए ।
प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार मकवानपुरस्थित बाल सुधार गृहबाट भागेका ७२ जना मध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको छ भने ३१ जनाको खोजी कार्य जारी छ । उक्त बाल सुधार गृहमा कुल ९४ जना रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरुलाई पनि मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ । नख्खु कारागारबाट भागेका मध्ये ७ जना र जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको छ ।
कास्की कारागारबाट भागेका १ जना र तनहुँ जिल्ला कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको सुरक्षा निकायले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएका ३५ जना कैदीबन्दी कुन कारागारबाट भागेका हुन् भन्ने खुल्न बाँकी रहेको प्रवक्ता अर्यालले बताए । उनीहरूको पहिचान गर्ने कार्य भइरहेको छ ।

