मकवानपुर / मानव बेचविखन विरुद्ध अभियान जारी राख्न सञ्चारकर्मीहरुसँगको समन्वय आवश्यक भएको बताइएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि बनेको पाँचौ योजना २०७५/०७६ माथि छलफल तथा प्रशिक्षण कार्यक्रममा यस्तो बताईएको हो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि बनेको पाँचौ योजनामा महत्वपूर्ण कार्यनीति र नियन्त्रणहरु व्यवस्था गरिएको भएपनि पीडितलाई आत्मासम्मान हुने प्रवृतिको न्यायका हिसाबले ऐनमा अझै परिमार्जन आवश्यक भएको बताइएको थियो ।
यस योजनामा मानव बेचबिखन रोकथामका लागि जोखिम समुदायलाई जिविकोपार्जन र स्वआर्जनका कार्यक्रम ल्याउने, मानव बेचबिखन तथा ओसारपसारको जोखिम कम गर्न सरोकारवालाको सक्रियता बढाउने, सुरक्षित आप्रवासन बारे शिक्षा तथा सचेतना कार्यक्रम गर्न सूचना केन्द्रको व्यवस्था गर्ने, महिला विकास तथा प्रवर्द्धनका कार्यक्रम सन्चालन गर्ने, संरक्षण र न्यायको लागि पहुँच बढाउने जस्ता कार्यनीति तथा नियन्त्रणको व्यवस्था गरिएको छ । तर यो अझै अपुरो भएकोले आमसञ्चारको तर्फबाट दबाबकारी भूमिकाको आवश्यकता औलाइएको हो ।
मकवानपुरमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागामन प्रवर्द्धन परियोजना अन्तरगत मानव बेचबिखन विरुद्ध सुरक्षित बसाइँसराइ सम्बन्धि सन्चारकर्मीसँग छलफल तथा अन्तक्रिर्या कार्यक्रम गरिएको थियो । अन्तराष्ट्रिय गैरसरकारी संस्था आओको सहयोग तथा नारिसिप सृजना केन्द्र हेटौंडाको आयोजनामा भएको छलफल कार्यक्रममा यसबारे जानकारी सबै समुदायसम्म पुर्याउने पर्ने औलाइएको थियो ।
यसअघि पनि विभिन्न कानून बनेको भए पनि कार्यान्वयनको पाटो कमजोर रहेको सहभागीहरुले बताएका थिए । ऐन व्यवस्थित नभएको कारण पीडितलाई न्याय हुन नसकेको भन्दै सहभागीले पीडितमैत्री न्यायको आवश्यकता रहेको बताए । कार्यक्रममा नारीसिप सृजना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जिवि पौडेलले जोखिमको संभावना भएको समुदायमा सचेतना पुर्याउनको लागि संस्थाले काम गर्दै आएको बताए । “लक्ष्यित समुदायमा सचेतना अभिवृद्धि तथा जीविकोपार्जनको लागि हामीले काम गर्दै आएका छौ तर, आमसञ्चारको पनि समन्वय आपरिहार्य छ” उनले भने । सन् २०१९ मा लागु भएको यो कार्यक्रमबाट ४ हजारभन्दा बढीलाई सिपमुलक तालिम तथा वैदेशिक रोजगारबाट समस्यामा परेर फर्केका १ सय ५० जनालाई तालिम प्राप्त मनोसामाजिक परामर्शकर्ताबाट परामर्श प्रदान गरिएको परियोजना संयोजक ज्योति बम्जनले बताइन् ।
मकवानपुर जिल्लामा रहेर विभिन्न सञ्चार माध्यममा सक्रिय पत्रकारहरुसँग भएको छलफल कार्यक्रममा अधिवक्ता मनप्रसाद भट्टराइले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि बनेको पाँचौ योजनाका बारेमा जानकारी गराउनु भएको थियो । मावन बेचविखन तथा ओसारपसार नियन्त्रणबाट आत्मासम्मानपूर्ण समाजको स्थापना गर्ने सोचका साथ यो योजना ल्याइएको भएपनि यसमा अझै गहन विषय समेटिनु पर्ने अधिवक्ता भट्टराइले बताए । कार्यक्रममा परियोजना फोकल पर्सन सर्मिला विश्वकर्मा, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमगाई, उपाध्यक्ष सरिता दाहाललगायत सहभागी पत्रकारहरुले न्यायको खातिर आपसी सहकार्य जरुरी भएको बताए ।
विभिन्न बाहानामा बेचबिखनकाे दर बढ्दाे रहेकाे सहभागिहरूले बताए थिए । पछिल्लाे पटक वैदेशिक राेजगारीकाे नाममा हुने बेचबिखन बढी गम्भिर रहेकाे भन्दै सञ्चारमाध्यमले चासाे निरन्तर दबाब दिनुपर्ने सामाजिक अभियन्ताहरूले बताए ।

