सरकार र साधारणबीच समस्याका ठेली आदनप्रदान
मकवानपुर । समाजका विभिन्न समस्याहरुमाथि सरकारले चासाे नदिएकाे भन्दै तिव्र आलोचना गरिएको छ । विभिन्न संस्था तथा संगठनका प्रतिनिधिहरुले बागमती प्रदेशका सांसदहरुलाई यस्तो गुनासाे पोखेका हुन् ।
जनपत्र मिडिया प्रा.लिको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा संसदीय निगरानीका लागि बागमती प्रदेशका विभिन्न सवालहरुको पहिचान सम्बन्धी कार्यशालामा नागरिकहरुले आफ्ना क्षेत्रका समस्याहरु सुनाए भने प्रदेश सभा सांसदहरुले पनि आफ्नो पीडा र बाध्यताहरु सहभागी नागरिकहरुलाई सुनाए ।
अधिकारकर्मी, नागरिकसमाज, गैरसरकारी संस्था, सामुदायिक वन, टोल विकास संस्था, सञ्चारकर्मीहरुले आफ्ना क्षेत्रमा परेका व्यहोर्नु परेका बाध्याताको सवालमा सांसदहरु समक्ष गुनासाे पोखेका हुन् ।बागमती प्रदेशसभाका उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले नागरिकका पहुँचका आधारमा होइन आवश्यकताका आधारमा सरकारले उनीहरुका निम्ती काम गर्नुपर्ने बताए । सदनमा रहुन्जेल आफूहरुले जनताका विषयलाई उठान गर्ने गरेको बताउँदै सांसदहरुले ‘जनताबाटनै निर्वाचित भएर आएकाले उनीहरुकै लागि आफूहरुले काम गर्ने गरेको आवाज उठाउने गरेको दाबि गरे ।
एचआइभी संक्रमित, प्रभावितहरुका धेरै खालका समस्याहरु छन् । उनीहरुका समस्याहरुलाई आफूहरुले न्यूनीकरण गर्न लागिपरेको सांसदहरुले बताए । हाल रेबिज बिरुद्धको सुइको अभाव चुनाैतिको रुपमा रहेकाे उनीहरुले बताए । जनताले अपेक्षा गरे अनुसार काम गर्न नसकेको स्वीकार गर्दै सांसद श्रेष्ठले भने ‘जनताका यावत समस्याहरु छन् हामीले सदनमा उठाएका पनि छौ, तर कार्यान्वयन सरकारले गर्दैन । शुन्य समय, बिशेष समयमा बोल्ने क्रममा नागकरिकका समस्याहरु उठाउने गरिएको उनले बताए ।
कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य भारती पाठकले एउटा विषयमा मात्र केन्द्रित नभएर समग्रमा सबै क्षेत्रका मुद्दा र समस्याहरू वास्तविक धरातलमा के कस्ता छन् भन्ने सन्दर्भलाई प्रतिनिधिमूलक ढङ्गबाट प्रस्तुत गरिएको बताइन् । कतिपय जानकारी र मुद्दाहरू पत्रकार र सञ्चारमाध्यममा छिटो पुग्ने भएकाले आफूहरुले मिडियाकर्मीहरूसँग पनि छलफल गर्ने गरेको पाठकले बताइन् ।
‘हाम्रो समिति, अर्थात् उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा हामी छौं, यहाँ उठेका विषयहरू सांसदहरूका लागि साझा सरोकारका विषय हुन्, कुनै एउटा समिति छान्नुपर्ने भएकाले हामीले यो समिति छानेका हौँ, तर जनसरोकारका सबै मुद्दाहरू सबैले उठाउनुपर्छ, सबै कानुन बन्ने प्रक्रियामा हामी ती विषयमा जानकार हुनुपर्छ’ पाठकले भनिन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले बागमती प्रदेश सरकारका स्थायी संरचना नबन्दा नागरिकहरुले समस्या बेहोरी रहेको बताए । आठ वर्षको अवधिमा पनि अस्थायी संरचनाबाट काम गर्ने र अस्थायी संरचना निर्माण गर्नका लागि करोडौ रुपैयाँ खर्च गर्ने परिपाटी राम्रो नभएको बताए । पारिवारिक निजी वन केन्द्रीय महासचिब आरती पाठकले वनमा आधारित रहेर उद्याम गर्ने नागरिकलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने विष्टले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले प्रदेश सरकारले नागरिकका लागि भन्दा पनि आफ्ना स्वार्थका कानून निर्माण गरिरहेको बताए ।
गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाले गैसरकारी संस्थाहरुलाई उपेक्षा गर्नेगरी सरकारले कानून निर्माण गरेकोमा विरोध गरिन् । राष्ट्रिय अपाङ्ग महाँसंघ मकवानपुरका अध्यक्ष गणेश चन्द्र दवाडीले सरकारले आफ्ना समस्याहरु नसुनेकोले अब सांसदहरुले पनि आवाज उठाइदिनुपर्ने बताए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइवा, मकवानपुर महिला उत्थान समूह अध्यक्ष कमला सुवेदी, एकल महिला समुह मकवानपुरका अध्यक्ष शारदा चौलागाई टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाका सचिव चन्द्रावती पनेरुलगायतकाले आफ्ना क्षेत्रका समस्याहरु बताएका थिए ।

