नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक भएकाले महिलाहरूले विभिन्न विभेद र पीडा भोग्न विवश छन् । पुरुषको अहंकारका कारण पढेलेखेको घरमा त महिलाहरू घरेलु हिंसाको शिकार भएका छन् भने अनपढ परिवार तथा समाजमा यस्ता समस्या झन् बिकराल रूपमा देखिन्छ । समाजमा रहेका यस्ता अवस्थालाई अवलोकन गरिरहँदा अर्धविकसित एउटा पहाडी गाउँमा भएको घटनाले मेरो मनमा स्पर्श गरायो ।
लक्ष्मीको एक कथित दलित परिवारमा पन्ध्र वर्ष अगाडि विवाह भएको थियो । के कारणले हो उनको विवाह भएको सात वर्षसम्म कुनै पनि बच्चा जन्मिएनन्। जसका कारण उनलाई घरपरिवार तथा समाजले बाँझी जस्तो उपनाम दिएर श्रीमानलाई यसबाट घरवार हुँदैन भन्दै अर्को विवाह गर्ने सल्लाह दिन्छन् । लक्ष्मी भने यस्ता हरेक कुरालाई बेवास्ता गर्दै मैले सहनु पर्छ भन्दै पीडालाई शक्तिमा बदल्दै दिनचर्या अगाडि बढाउँदै गएकी हुन्छिन् । सात वर्षपछि लक्ष्मीले एक छोरीको जन्म दिइन् । त्यसपछि लगातार एक वर्षको फरकमा अर्का दुई छोरी गरी तीन छोरीको जन्म दिइन् । बाँझीको उपनाम पाएकी लक्ष्मी तीनवटा बच्चाको धनी भइन् ।
दिनहरू बित्दै जाँदा पारिवारिक बोझले गर्दा एक दिन लक्ष्मीका श्रीमान् कामको खोजीमा शहर पसे । घरमा लक्ष्मीका तीन छोरीका साथमा बुबाआमा स्याहारमा तल्लिन रहिन् । केही समयपछि लक्ष्मीका श्रीमान् शहरबाट घर आउँछन्। छिमेकीका अनेक कुरा सुनेर परपुरुषसँग लागेको आरोप लगाउँदै लक्ष्मीलाई गाली गर्ने, पिट्ने गर्दै लगातार यातना दिन थाल्छन् । लक्ष्मीले अनेक तबरले सम्झाउँदा पनि अबुझकी श्रीमान् उनी प्रति नकरात्मक कुरा मात्र गरेर घरबाट निस्केर जा भन्दै हरेक दिन किचकिच गर्न थाल्छन् । लक्ष्मी भन्छिन्, ‘म निस्केर कहाँ जाउँ, छोरीहरू लिएर जाउँ कसरी पाल्ने, छोड्यौँ कसरी छोड्ने, छोरीहरू हामीलाई छोडेर नजानु बाबासँग बस्दैनौ भन्दै रुन्छन् । कहिलेकाहीँ त अनेकौँ कुविचार पनि नआएको होइन ।’
लक्ष्मी छिमेकीहरूसँग मेरो श्रीमान् यस्तो खालको होइन कसले बिगारिदिएको होला, कसरी सम्झाउने होला, कसले सम्झाइदेला भन्दै खुइए गर्दै लामो सास तान्छिन् ।
लक्ष्मी, श्रीमानलाई मेरो त माया लागेन छोरीहरूको समेत किन नलागेको होला, आमाबुबाको काखबाट छुट्याएको बच्चालाई कस्तो मानसिक असर पर्छ भन्ने कुरा किन थाहा नभएको होला, क्षणिक आवेगको निर्णयले देखिने असर आफैँलाई पर्छ भनेर पनि किन नबुझेको होला भन्दै चिन्तित हुन्छिन् । यस्तो निर्णय लिएर हामी छुट्टिनुले सिङ्गो परिवारलाई सुख हुँदैन ।
लक्ष्मीले श्रीमानलाई अनेक तबरले सम्झाउँदा पनि मानेनन् । घर छोड्न बाध्य बनाए । आखिरमा छोरीहरूलाई घरमै छोडेर उनी माइतीको शरणमा पुगिन् । माइतमा केही दिन बसेपछि आमाबुबाले पनिसम्झाउँदै भन्नुभयो, छोरी तिम्रो बिहेपछि पराइ घर नै तिम्रो घर हो, जे जस्तो भए पनि धैर्यताका साथ त्यही बस्नुपर्छ। साना बच्चाहरूलाई छोडेर तिमी यहाँ बस्न मिल्दैन भनेर घर पठाउने कुरा गर्नुहुन्छ । कसरी सम्झाउँ मैले पीडाको अन्तिम सीमा नागेर आएको भनेर रु आमाबुबाको इज्जत, घरपरिवारको मायाले कयौँ दिन, राती निन्द्रा न दिन भोक नभनी बसेको हो भनेर । सामाजमा आफ्नो र घर परिवारको इज्जतका लागि छोरीहरूले कहिलेसम्म यस्ता पीडा भोग्नुपर्ने र जहाँ गए पनि किन उनीहरूले कुराको सुनुवाइ हुँदैन ।
लक्ष्मीले असैह्य पीडापछि मात्र आफू आएको कुरा बताएपछि मात्र राख्न राजी हुनुभयो । लक्ष्मी माइतमा पनि आमाबुबालाई दुस्ख हुन्छ भनेर ज्यालादारी गरी गुजरा चलाउन थालिन् । उनी दिनभरी काममा व्यस्त भएपनि रातीमा घरीघरी बच्चाको यादले सताउँथ्यो, के गरेका होलान्, के खाएका होलान्, मलाई सम्झी कति रोएका होलान् । भेट्न जाउँ भने परिवारले भेट्न दिँदैनन् होला भन्ने चिन्ता लागिरहन्थ्यो।
उता लक्ष्मीका श्रीमानलाई श्रीमतीलाई पठाएपछि झन् जिम्मेवारी बढेको थियो । बुढा भएका आमाबुबा, साना केटाकेटी रुन्छन्, दुस्ख दिन्छन् । काम नगरी जहान पाल्न सक्ने अवस्था छैन । काम गरेर आउँदा घरमा अस्तव्यस्त अवस्था देखेर दिक्क लागेर आउँथ्यो। त्यसपछि श्रीमतीको अभाव खड्किन थाल्यो । उनले घर कति सहजै समालेकी थिइन् । उनले मलाई कहिल्यै दुखको गुनासो गर्थिनन् । मलाई बाहिरको एकसरो काम थियो, सजिलै भएको थियो ।
अनाहकमा अरूको कुरा सुनेर श्रीमतीको भावना नबुझि उसलाई घरबाट निकाले अहिले यो अवस्था भएको छ भन्दै पश्चताप गरेका छन् । अब अर्को विवाह गर्यौ भने यी छोरीहरूलाई माया गर्ने श्रीमती पर्ने हो कि होइन अब कसो गरौँ भन्दै आफ्नो अन्तर्मनलाई सोध्छन् । तिमीले गल्ती गरेका छौ, साना छोराछोरीको आमाको माया र काख छुटाएका छौ, सोझी कर्तव्यनिष्ट श्रीमतीलाई अरूका कुरा सुनेर अनेक यातना दिँदै घरबाट निकालेका छौ त्यसैले तिम्रा अब अझै दुखका दिन आउँदैछन् तिमीले पुनर्विचार गर भन्ने सन्देश उनको कानमा आउँछ, उनी झल्याँस्स हुन्छन्।
हो, आफ्नै अविश्वास र गल्तीले गर्दा छोराछोरी, श्रीमती र आफैँलाई पनि दुख भएको छ अब लक्ष्मीलाई घर फिर्ता ल्याउनुपर्छ भन्ने लाग्छ ।
उनी भोलिपल्ट ससुरालीमा लक्ष्मीलाई लिन जान्छन् । बेलुकीपख त्यहाँ पुग्दा लक्ष्मी मेलाबाट झुत्रे कपडामा निन्याउरो हुँदै घर आउँदै थिइन् । श्रीमानलाई आफ्नो घरमा देख्दा खुसी भइन् । उनलाई पनि श्रीमान् र छोराछोरीको याद नआएको होइन, खाली आफैँ जान सकेकी थिइनन् । अब मबाट यस्तो गल्ती कहिल्यै हुँदैन म तिमीलाई लिन आएको भन्दै श्रीमानले भन्दा लक्ष्मी झनै खुसी भइन् । भोलिपल्ट दुवैजना एक-अर्काको भावना बुझेर अघि बढ्ने संकल्पकासाथ घर फर्के । घर आइपुग्दा आमाको मायाबाट बञ्चित भएका छोरीहरू पनि धेरै खुसी भए । त्यसपछिका समय सबै परिवार खुशीयालीका साथ बित्यो ।

