मकवानपुर । हेटौंडा उपमहानगरपालिका भित्र ७ वटा वडामा बालश्रम अनुगमन गरिएको छ । हेटौंडाका वडाहरु ६, ७, ८, ९, १६, १७ र १८ नं. का होटल, ग्यारेज, वर्कशप, किराना पसलहरुमा अनुगमन गरिएको हो ।
यस क्रममा हेटौंडा ८ कमाने निम चोकमा अवस्थित चाँद मोटरसाइकल वर्कशपमा १७ वर्षिय दुई बालकहरु बालश्रम गरिरहेको अवस्थामा अनुगमन टोलीले फेला पारेको छ । सो वर्कशप सञ्चालकहरुलाई श्रम तथा रोजगार कार्यालयले दश हजार रुपियाँ जरिवाना गराइएको श्रम तथा रोजगार कार्यालय हेटौंडाका प्रमुख रुद्र नारायण शाहले जानकारी दिनुभयो । उद्धार गरिएको दुई बालकहरुलाई सञ्चालकले १२ घण्टा बिना पारिश्रमिकमा काममा लगाइएको सञ्चालक स्वयमुले बताएका छन् । बालकहरुले काम सिकिरहेको अवस्था भएकाले पारिश्रमिक नदिएको उनको भनाइ छ । २ बालक मध्ये एक बालक रौतहट र अर्का बालक पर्सा जिल्लाका रहेको छन् ।
टोलीले चुच्चेखोला, पुतलीबजार, कमाने, नागसोती, हटिया, हर्नामाडी, पशुपतिनगर, तल्लो सिमेन्ट रोडका होटल, किराना, खुवा पसल, वर्कशप ग्यारेजहरुमा अनुगमन गरिएको हो । ५ वडामा जम्मा ११ वटा ग्यारेज तथा वर्कशपहरु, ७ होटल, २ वटा किराना पसलहरुमा गरिएको अनुगमनमा ८ नं. वडाका वर्कशपमा मात्रै २ बाल श्रम फेला पर्नुले व्यवसायीहरु बालश्रम प्रयोगमा तुलनात्मक रुपमा निकै सचेत भएको पाइएको बाल कल्याण अधिकारी बिनामाया थिंगले बताउनु भयो ।
हेटौंडा उपमहानगर बालमैत्री गाउँपालिका घोषणा भए तापनि यदाकदा बालश्रम भेटिइराख्ने हुँदा यो सवालमा सबै सरोकारवाला पक्षबाट निरन्तर सहयोग गरिरहन आवश्यक भएको अनुगमन समिति संयोजक बर्तौैलाले बताए ।
पहिले अनुगमनमा होटलहरुमा बालश्रमिक धेरै मात्रामा भेटिने गरेको थियो हाल छिटफुट मात्रा भेटिने गरेको छ तर वर्कशपहरुमा अझै पनि तुलनात्मक रुपमा सुधार त भएको छ तापनि केही मात्रामा फेला पर्ने गरेको बाल हेल्पलाइन मकवानपुर प्रमुख ज्ञवालीले अनुगमनको ताजा अनुभव बताउनु भयो । अनुगमनका क्रममा बाल श्रम प्रयोग नगर्नुभएका व्यवसायीहरुलाई प्रंशशासहित धन्यवाद समेत व्यक्त गरिएको उहाँले बताउनु भयो ।
श्रम तथा रोजगार कार्यालय, हेटौंडा उपमहानगरपालिका, प्रहरी, बाल हेल्पलाइनलगायतका सरोकारवालाहरुको सहभागितामा अनुगमन गरिएको थियो । टोलीमा हेटौंडा उपमहानगरपालिकाको बाल श्रम अनुगमन समितिका संयोजक सुरज बर्तौला, सदस्यहरुः श्रम तथा रोजगार कार्यालय हेटौंडाका नायब सुब्बा रेणु तामाङ्ग र सर्मिला राई, बाल कल्याण अधिकारी बिनामाया थिङ्ग, नासु निर्मल सिं रावल, प्रहरी चौकी चोकीटोलका असई निर्दोश लामा, हेटौंडा ६ नं. वडा सदस्य विजय पौडेल, सिविन बाल हेल्पलाइन १०९८ का प्रबन्धक झबिन्द्र ज्ञवाली र कार्यक्रम अधिकृत एवम् मनोविमर्शकर्ता सम्झना अधिकारीलगायतको उपस्थिति रहेको बाल हेल्पलाइन मकवानपुरले जनाएको छ ।

