मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा प्रदेश प्रहरी अस्पताल निर्माण हुने भएकाे छ । बागमती प्रदेश सरकारको सहयोगमा निर्माण हुने प्रदेशस्तरीय प्रहरी अस्पतालकाे आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले मंगलबार शिलान्यास गरे ।
हेटौंडा उपमहानगरपालिका–१७ स्थित हटियामा निर्माण हुने प्रदेश प्रहरी अस्पताल शिलान्यास गर्दै मन्त्री लामिछानेले प्रदेशको सुरक्षाको विषयमा सरकार गम्भीर रहेकाले नागरिक तथा प्रहरीलाई लक्षित गरेर अस्पताल निर्माण थालिएको बताए । ‘अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दासमेत लाभान्वित हुनेछन्’ उनले भने ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शय्याको अस्पताल बनाउने योजना अनुसार पहिलो चरणमा १५ शय्याको अस्पताल निर्माण थालिने छ ।
बागमती प्रदेश प्रहरी कार्यालय मार्फत निर्माण हुने अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी आवास, अस्पतालको घेराबार, डिप बोरिङ, पार्किङलगायतका अस्पतालका संरचनाहरु पहिलो चरणमा बन्ने बताइएकाे छ ।
१८ पुस २०८३ गतेभित्रमा सम्पन्न गर्नेगरी मूल्य अभिवृद्धि करसहित ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
अस्पताल भवनको पहिलो चरणको निर्माण पूरा भएपछि अन्तरङ्गसँगै बहिरङ्ग सेवा सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायव उपरीक्षक डा. प्रयास बिडारीले बताए । हाल हेटौंडा १५ स्थित रातोमाटे गणबाट बागमती प्रदेश प्रहरी अस्पतालले प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

