मकवानपुर । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको उनले बताए । ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ’ उनले फेसबुकमा लेखेका छन् ‘कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’
उनले प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको समेत दाबी गरेका छन् । उनले राजीनामा दिएसँगै अब फेरि देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने समेत फेसबुक मार्फत भनेका छन् ।
यसअघि सोमबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार मन्त्री गुप्ता आज राजीनामा बुझाएर हिँडेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
केही हप्ता पहिले मन्त्री गुप्ता र भूमी सम्बन्धी एक विचौलीयाकाे लेनदेन भएकाे सम्वाद वाहिरिएकाे थियो । एक जिल्लामा भूमि आयोगकाे अध्यक्ष बनाउन र साेही जिल्लामा मालपोत कार्यालयकाे प्रमुख परिवर्तनकाे लागि रकम लेनदेनकाे लागि भनिएकाे सम्वाद बाहिरिएकाे थियाे । उक्त सम्वाद बाहिरिए पछि मन्त्री गुप्ताकाे विषयले प्रतिनिधि सभामा समेत प्रवेश गरेकाे थियाे ।
नेकपा एमालेका राजकुमार गुप्ता प्रतिनिधिसभा अन्तर्गत पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए । गुप्ताले २४ हजार २६० मत प्राप्त गर्दा चौधरीले २४ हजार १०९ मत प्राप्त गरेका थिए ।


