मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । सोमबारको प्रदेशसभा बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।
प्रदेश सरकार लागि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गत असार १ गते आगामी आव २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रदेश सभमा पेश गरेका थिए । बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई विनियोजन विधेयकको अङ्ग बनोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकले बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले संसदमा पेस गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गर्ने र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई पारित गर्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
मन्त्री काफ्लेले पेस गरेको उक्त प्रस्तावलाई सभामुख भुवन कुमार पाठकले निर्णयार्थ पेस गरेका थिए । निर्णायार्थ पेस गरिएको उक्त प्रस्तावको पक्षमा बहुमत सदस्य रहेका थिए । प्रस्तावको पक्षमा बहुमत सांसद भएपछि सभामुखले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
प्रदेशसभाका ७ जना सांसदहरूले सरकारको बजेटमा खर्च कटौतीको प्रस्ताव राखेका थिए । सांसद देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिला कुमारी लामा र सृजना सैंजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए । संसदमा प्रस्तुत भएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भयो ।
प्रदेशसभाकाे आइतबार र सोमबारकाे बैठकमा सरकारको बजेट माथि सांसदहरूले धारणा राखेका थिए । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले तथा मुख्यमन्त्री बहादुर सिंह लामाले बजेट माथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
प्रदेश सरकारको बजेट आइतबार नै पारित गर्ने तयारी गरिएपनि छलफलमा भाग लिने सांसदको संख्या बढेपछि सोमबारका लागि कार्यसूची सारिएको थियो ।
सभाकाे पेश भएकाे बजेट माथि १२ असार देखि छलफल गर्ने कार्यसूची तय गरेकाे भए पनि प्रदेश सभाकाे बैठक बजेट विवादका कारण पटक पटक स्थगित भएकाे थियाे । दलहरू बिच बजेट माथिको छलफल थाल्न ८ बुँदे सहमति सहित पुरक प्रस्ताव दर्ता भएपछि प्रदेश सभाकाे बैठक अवरोध भएन ।

