मकवानपुर । बागमती प्रदेशमा २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । असार महिनाकाे चौथो हप्ता लाग्दासम्म प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा राेपाइँ अझै हुन सकेकाे छैन ।
प्रदेशको कूल पाँच लाख ३४ हजार आठ सय ७१ दशमलव ६० हेक्टर जग्गामध्ये एक लाख २० हजार ६ सय १० दशमलव २५ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । प्रदेश कृषि निर्देशानलयका अनुसार यस वर्ष हालसम्म २४ हजार सात सय ४२ दशमलव ७८ हेक्टर जग्गामा मात्र धान रोपाइँ हुन सकेको हाे ।
यसवर्ष समयमै वर्षा नहुँदा प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो रहेकाे निर्देशनालयले जनाएकाे छ । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी दोलखा र भक्तपुरमा ६५ प्रतिशत र सबैभन्दा कम धादिङमा ५ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ ।
काठमाडौंमा ६० प्रतिशत, ललितपुरमा ५५ प्रतिशत, रसुवामा २८ दशमलव ८३ प्रतिशत, सिन्धुपाल्चोकमा २७ दशमलव ८ प्रतिशत, रामेछापमा २२ प्रतिशत, नुवाकोटमा १८ दशमलव २१ प्रतिशत, सिन्धुलीमा ९ दशमलव ६६ प्रतिशत, चितवनमा ८ दशमलव ८ प्रतिशत र मकवानपुरमा ७ दशमलव ९९ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको सूचना अधिकारी दाहालले बताए ।
काठमाडौंमा २१ हजार दुई सय हेक्टर खेतीयोग्य जग्गामध्ये पाँच हजार नौ सय २६ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै ललितपुरमा कूल १५ हजार दुई सय ९६ हेक्टरमध्ये चार हजार एक सय ६३ हेक्टरमा तथा भक्तपुरमा कूल आठ हजार ७७ हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार छ सय ९९ हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।
त्यस्तै चितवनमा कूल ४८ हजार ६ सय ९४ हेक्टरमध्ये २७ हजार दुई सय सात दशमलव २५ हेक्टरमा, मकवानपुरमा ४१ हजार तीन सय ३८ हेक्टर खेतीयोग्य जग्गा रहोकामा सात हजार ६७ हेक्टरमा, नुवाकोटमा ३२ हजार सात सय ३५ हेक्टरमध्ये १६ हजार चार सय ९८ हेक्टरमा, रसुवामा १३ हजार सात सय ७८ दशमलव ६ हेक्टरमध्ये दुई हजार सात ८१ हेक्टरमा र धादिङमा ४८ हजार एक सय ३६ हेक्टरमध्ये ११ हजार एक सय ५९ हेक्टरमा धान रोपाइँ धान खेती हुने गरेको सूचना अधिकारी दाहालले जानकारी दिए ।
यसैगरी सिन्धुलीमा ६२ हजार सात सय १३ हेक्टरमध्ये १३ हजार चार सय ४५ हेक्टरमा, रामेछापमा कूल ५० हजार नौ सय आठ हेक्टरमध्ये सात हजार आठ सय ५९ हेक्टरमा, दोलखामा कूल ५६ हजार ६ सय ८३ हेक्टरमध्ये दुई हजार आठ सय १४ हेक्टरमा, काभ्रेपलाञ्चोकमा कूल ६१ हजार पाँच सय ९४ हेक्टरमध्ये १० हजार दुई सय १० हेक्टरमा र सिन्धुपाल्चोकमा कूल ७३ हजार सात १० हेक्टरमध्ये आठ हजार सात सय ८२ हेक्टरमा धान खेती हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ ।
पर्याप्त वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै किसान धान रोपाइँ गरिरहेका छन् । पछिल्ला वर्षहरूमा कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै गएकाे छ। आधुनिक कृषि उपकरणहरूको प्रयोगले कृषकहरूलाई समय, श्रम र लागतको बचत हुनुका साथै उत्पादनमा वृद्धि हुन थालेको बताइन्छ ।
किसानले खेती गर्दा ट्रेक्टर, थ्रेसर, मिनी टिलर, मल छर्ने मेसिन, पानी तान्ने मोटर लगायतका उपकरण प्रयोग गर्न थालेका हुन् । स्थानीय सरकार र प्रदेश सरकारको सहयोगका कारण किसानले समेत यान्त्रीकीकरणमा जोड दिन थालेका हुन् ।
जिल्लामा कृषिमा यान्त्रीकरण प्रवर्धन गर्न बागमती प्रदेश सरकार र कृषि मन्त्रालयबाट समेत अनुदानमा कृषि उपकरण वितरण भइरहेको छ। सधै परम्परागत रुपमा खेती गर्दै आएका किसानहरुले आधुनिक उपकरणबाट खेती गर्दा एक दिनमै तीन-चार दिनमा हुने काम गर्न सकेका छन् ।
यान्त्रीकरणसँगै व्यावसायिक तरकारी खेती, धान र मकै उत्पादनमा पनि उल्लेखनीय वृद्धि हुने गरेकाे तथ्याङ्कले देखाएकाे छ । अझै गाउँ–गाउँमा पहुँच नपुगेको, उपकरणको मर्मत समस्या, तालिम अभाव र ऋणको सहज पहुँच नहुँदा यान्त्रीकरणमा पूर्ण रूपान्तरण चुनौतीपूर्ण रहेको किसानहरूको भनाइ छ।

