मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चिता, दिगोपना र पूर्ण संस्थागत गर्भजाचँ गाउँपालिका घोषणा भएको छ । शुक्रबार बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरे ।
जिल्ला पूर्णखोप समन्वय समितिको सचिवालयले. पूर्णखोप सुनिश्चिता गाउँपालिकाको प्रमाणपत्र प्रदान गरे सँगै कैलाशलाई घोषणा गरिएको हो ।पूर्णखोप गाउँपालिका सुनिश्चित गर्न राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम जेष्ठ २५ गते सम्ममा १६ महिनादेखी २३ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकोले कैलाश गाउँपालिका जिल्लामै पहिलो पटक सुनिश्चिताको घोषणा गरेको हो ।
कार्यक्रममा ४२ जना स्वास्थ्यकर्मीलाई प्रशंसापत्र प्रदान गरिनुका साथै वडाका १० वटा स्वास्थ्य चौकी, स्वास्थ्य तथा शिक्षा क्षेत्रका काम गर्ने ७ वटा संघसंस्थालाई सम्मानित गरिएको थियो । यसैगरी खोप कार्यमा सक्रिय रहेका उत्कृष्ट तीन स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । तीन उत्कृष्ट स्वास्थ्य चौकीलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार गणेश दुलाललाई नगदसहित सम्मान गरिएको थियो ।
गाउँपालिकालाई पूर्णखोप पालिका घोषणा अघि बैशाख अन्तिम साता पूर्णखोप वडा सुनिश्चित घोषणा गरिएको थियो । कार्यक्रममै वडा घोषणा भएको प्रमाणपत्र वडाध्यक्ष र स्वास्थ्य चौकी प्रमुखहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । खोप समन्वय समिति गाउँपालिकाका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षता तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको विशेष आतिथ्यता रहेको थियो ।

