मकवानपुर । मकवानपुरलगायत बागमती प्रदेशभरीका जिल्लाका किसानले भोग्नु परेको समस्यामा आफूहरुले सहयाेग गर्ने संसदहरुले बताएका छन् । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले किसानले आफ्ना खेतबारीमा धान, मकैलगायतका अन्नबाली रोप्दा मल नपाउने समस्या, दूधको भुक्तानी बेलैमा नपाउने समस्या निकै बढेको बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रान्चुलीमा सार्वजनिक सुनुवाइमा उहाँले यस्तो बताउनु भएको हाे । जनपत्र मिडिया प्रालिको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहकार्यमा कृषकका समसामयिक समस्याहरुको समाधानमा सांसदहरुको भूमिका सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रदेशसभाका सदस्यहरु प्रेमबहादुर पुलामी, शुस्मा भुजेल न्यौपाने, बालकुमारी विस्वकर्मालगायतकाले किसानहरुको सहमस्या समाधानमा सधै हातेमालो गरेर अगाडी बड्ने बताउनुभयो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, गढी गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष भागवत घिमिरे, जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका अध्यक्ष हरि प्रसाद कडेंललगायतकाले पनि किसानलाई सहयोग गर्ने बताउनु भयाे ।
गाइ, भैसी, कुखुरालाई महगो मुल्यमा दाना विक्री गर्नुपर्ने तर, आफ्नो उत्पादन भने सस्तो मुल्यमा विक्री गर्नुपर्ने बाध्यतामा किसानहरु रहेका छन् । यो समस्या भोग्ने किसानहरु बागमती प्रदेशमा धेरै रहेका छन् । मकवानपुरका किसानका समस्या झनै कहाली लाग्दो छ । यहाँका किसानले उत्पादन गरेको दूधको भुक्तानी नपाउँदा निकै समस्या भोग्दै आएको सार्वजनिक सुनुवाइका क्रममा बताएका छन् । यहाँका किसानले दूग्ध सहकारीमा विक्री गरेको दूध सरकारी स्वामित्वमा रहेको हेटौंडा दूग्ध वितरण आयोजना र निजी लगानीका डेरीहरुले खरिरद गर्दै आएका छन् । तर, दूधको भुक्तानी समयमा नै नदिदा किसानहरु चिन्तित बनेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका लागि सरकारी र निजी डेरी गरेर १८ वटा उद्योगले बितेको बैशाख मसान्त सम्ममा २२ करोड ५ लाख ३७ हजार १७५ रुपैयाँ भुक्तानी रकम किसानलाई दिन बाँकी छ ।
बितेको आर्थिक वर्षमा मात्र १८ वटा डेरी उद्योगले २९ करोड ६८ लाख ४६ हजार ८८६ रुपैयाँ मकवानपुरका किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ । किसानको दूधको भुक्तानी नदिनेमा सबैभन्दा अगाडी सरकारी स्वामित्वमा रहेको हेटौंडा दुग्ध वितरण आयोजना रहेको छ । हेटौंडा दुग्ध वितरण आयोजनाले मात्र बैशाख मसान्तसम्ममा १ करोड २२ लाख ८८ हजार भुक्तानी गर्न बाँकी रहेको छ ।
मकवानपुरका किसानहरुको दूध खरिद गरेर नियमित रुपमा रकम भुक्तानी गर्ने निजी डेरीहरु पनि २६ वटा रहेका छन् । उनीहरुले दूध खरिद गरेवापत नियमित रुपमा दूधको भुक्तानी रकम जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई दिने गरेका छन् । तर, १८ वटा अरु उद्योगहरुले किसानको दूध खरिद गर्ने तर, भुक्तानी रकम दिनका लागि सधै आलटाल गर्नेगरेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघले दैनिक रुपमा ५३ हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ । यसैगरी मकवानपुरको मनहरी र बकैया गाउँपालिकाको सहकार्यमा ती दुइ पालिकाले सिधै निजी डेरीहरुलाई दूध बिक्री गर्दै आएका छन् । त्यस दुइ पालिकाको र खुल्ला रुपमा किसान आफैले समेत गरेर बिक्री गरिने दूध हरेक दिन एक लाख लिटर बिक्री हुँदै आएको छ ।

