मकवानपुर । साहित्य सङ्गम मकवानपुरले ८ जना व्यक्तित्वलाई हेटौंडामा सम्मानित गरेकाे छ । ३५५ औं नियमित साहित्य सन्ध्यासँगै सङ्गम साहित्य उत्सव २०८२ काे अवसरमा शनिबार विभिन्न सम्मानबाट ८ जनालाई सम्मानित गरेकाे हाे ।
मकवानपुर साहित्य श्री सम्मान, २०८१ बाट मकवानपुरे साहित्य स्रष्टा राजकुमार लामिछाने सम्मानित गरिएकाे छ । तत्कालिन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति संस्थापक रहेकाे उक्त सम्मानकाे राशी १५ हजार ५५५ रुपैंया रहेकाे छ । यसैगरी भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित भएकी छिन् । विशाल अधिकारी आशुताेषले स्थापना गरेकाे उक्त सम्मानकाे राशी १५ हजार ५५५ रुपैंया रहेकाे छ ।
यस्तै समिर पाख्रिन दीपक मुडभरी स्मृति सम्मान, २०८१ बाट सम्मानित भए । १० हजार रुपैया राशीकाे उक्त सम्मान मुडभरी परिवारले स्थापना गरेका हुन् । यसैगरी विनोद सुनिता सुवेदी सम्मान, २०८१ बाट पत्रकार रामकुमार एलन सम्मानित भएका छन् । ११ हजार १११ रुपैंया राशी रहेकाे उक्त सम्मान प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले स्थापना गरेका हुन् । १० हजार रुपैंया राशीकाे मंगलादेवी स्मृति सम्मान २०८१ बाट बवी थापा सम्मानित भएकी छिन् । उक्त सम्मान शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेका हुन् ।
यसैगरी मुक्तितारा सम्मान, २०८१ बाट यश लामा सम्मानित भएका छन् । मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त सम्मानकाे राशी १० हजार रुपैंया रहेकाे छ । यस्तै १० हजार रुपैंयाकाे रामहरी देवु सम्मान, २०८१ बाट मकवापुरे कवी मसान उपासक सम्मानित भएका छन् । ऋषि केबी र पूण्यशीला श्रेष्ठले उक्त सम्मान स्थापना गरेका हुन् । यसैगरी साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०/०८१ बाट अभय श्रेष्ठ सम्मानित भए । डा. केशव श्रेष्ठ ज्योतिले स्थापना गरेकाे उक्त सम्मान २५ हजार १ रुपैंया रहेकाे छ ।
१० जेठमा भएकाे कार्यक्रममा सम्मानित स्रष्टाहरुले रचना वाचन समेत गरेका थिए । कार्यक्रममा २ वटा प्यालन डिस्कसन भएकाे थियाे । सपना र सम्भावनाः सिर्जनामा नयाँ पुस्ता र कविताः युगकाे प्रतिविम्बनमा प्यानल डिस्कसन भएकाे संगम सचिव मनोज पोखरेलले जानकारी दिए । सर्जक संजाल मकवानपुरका संयोजक निमेष निखिलले अभिभावकत्व ग्रहण गरेर भएकाे कविताः युगकाे प्रतिविम्बनमा प्यानल डिस्कसनका वहसकर्तामा अभय श्रेष्ठ, टिका आत्रेय र घनश्याम घिमिरे रहेका थिए भने सेसनकाे सहजकर्ता शान्तिप्रीय वन्दनाले गरिन् ।
मकवानपुरे साहित्यकार दीपक गौतमले अभिभावकत्वमा भएकाे सपना र सम्भावनाः सिर्जनामा नयाँ पुस्ता प्यानल डिस्कसनका वहसकर्तामा संप्रस पौडेल, प्रतिमा डङ्गोल र कृतिका लौडारी रहका थिए । यस सेसनकाे सहजकर्ता छवि अनित्यले गरे । कार्यक्रममा अतिथि साहित्यकारहरुकाे रचना वाचन तथा संगमका कार्यसमितिका पदाधिकारीहरुकाे रचना वाचन समेत भएकाे थियाे ।
हेटौंडा उपमहानगरकाे प्रतिष्ठा वृद्धि गरी राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय क्षेत्रसम्म साहित्य कला तथा संस्कृतिलाई विस्तार गर्न सङ्गम साहित्य उत्सव २०८२ आयोजना गरिएकाे सङ्गम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाकाे प्रवर्धनमा भएकाे कार्यक्रमकाे सहजिकरण सचिव पोखरेलले गरेका थिए ।

