मकवानपुर । बागमती प्रदेशकाे राजाधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जोड्ने छोटाे मार्ग अन्तरगत कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नति कार्यका लागि उक्त सडक खण्ड २ जेठबाट २० जेठसम्म बन्द गरिने भएको हो ।
सडक पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको काम भइरहेको सडक बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गरी जनाएको छ । ‘पूर्वाधार विकास कार्यालयको पत्र बमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्नु पर्ने भएकाेले १९ दिन बन्द गरिने भएको हो’ प्रशासनकाे सूचनामा भनिएकाे छ ।
उक्त सडक खण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्गकाे रुपमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।

