मकवानपुर । चलचित्र पत्रकार संघ मकवानपुर शाखाद्वारा ३ जना हेटौंडामा सम्मानित हुने भएकाे छन् । संघले चलचित्र पत्रकारिता दिवसको अवसरमा रंग पत्रकार अनन्त वाग्ले, रंग सम्पादक रेनिश फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कारसहित सम्मानित गर्ने भएकाे हाे ।
रंग पत्रकार वाग्लेलाई नन्दबहादुर महर्जन स्मृती राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट सम्मानित गरिने भएकाे हाे । यसैगरी कलाकर्मी सम्मान २०८२ बाट रंग सम्पादक फागोलाई सम्मान गरिने संघ अध्यक्ष कपिल खड्काले जानकारी दिए । उनका अनुसार मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मी उक्त सम्मान प्रदान गरिन्छ ।
त्यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित गरिने उनले बताए । अधिकारी दुई दशकदेखी रेडियोमा सक्रिय रहेका छन् । मंगलबार बसेको संघको बैठकले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेकाे हाे ।
दिवसकै अवसरमा पहिलो पटक चलचित्रमा अभिनय गरेर चर्चामा आएकी बालकलाकार शुपला सापकोटालाई अभिनयमा सफलताकाे लागि प्रशंसा पत्रबाट सम्मान गरिने अध्यक्ष खड्काले जानकारी दिए । हरेक वर्ष ७ जेठमा संघले चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ ।

