मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा सातौं संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । १९ बैशाखबाट महिलातर्फकाे गोल्डकप हुने भएकाे हाे ।
प्रतियोगिताकाे छैटौं संस्करणसम्म पुरुषतर्फ मात्रै हुँदै आएकाेमा सातौं संस्करण महिलातर्फका टिम बीच प्रतिस्पर्धा हुन लागेको हो । मंगलबार मकवानपुर जिल्ला फुटबल संघले हेटौंडामा पत्रकार भेटघाट गर्दै प्रतियोगिता सम्बन्धमा जानकारी गराएकाे हाे । प्रतियोगितामा आयोजकसहित ८ वटा टिमको सहभागिता रहने संघ महासचिव छवि सुवेदी जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्को १५ लाख रुपैयाँ, मकवानपुरकाे भीमफेदी र कैलाश गाउँपालिकाको ३/३ लाख रुपैयाँसहित प्रतियोगिता आयोजनाका लागि विभिन्न क्षेत्रबाट सहयोग रहने बताइएको छ ।
प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस, नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लब गरी तीनवटा विभागीय महिला टिमसहित मकवानपुर हेटौंडाकाे रिगल रिसोर्ट एन्फा महिला टिम मकवानपुर, बीरगन्ज युथ एकेडेमीकाे महिला टिम र नवजनजागृति युवा क्लब सिमरा बाराको महिला टिम, रौतहट र चितवन जिल्लाको महिला टिम गरी ८ बटा टिमकाे सहभागिता रहने महासचिव सुवेदीले बताए ।
हेटौंडा उपमानगरपालिका – ६, गौरिटारस्थित फुटबल खेल मैदानमा आयोजना गरिने प्रतियोगिताकाे लागि मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

