मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवारका खेलबाट नागस्वती, फ्रिडम फाईटर, बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो खेलमा फ्रिडम फाइटर भेट्रान्स ठमेल विजयी भएको छ । फ्रिडमले चितवन भेट्रान्सलाई २-० गोल अन्तरले पराजित गर्यो । फ्रिडमकाे जितमा दोस्रो हाफको ४२ औ मिनेटमा राजकुमार केसी तथा ४९ औं मिनेटमा कृष्ण मालाकारले गोल गरे । खेलको म्यान अफ द म्याच फ्रिडम फाइटरका खेलाडी राजकुमार केसी घोषित भए ।
शुक्रबारकाे दोस्रो खेलमा नागस्वती भेट्रान्स हेटौंडा विजयी हुदै क्वाटरफाइनल प्रवेश गरेकाे छ । नागस्वतीले सिमरा भेट्रान्सलाई ३-० गोल अन्तरले हराउँदै क्वाटर फाइनल प्रवेश गरेकाे हाे । नागस्वतीको जीतमा खेल पहिलो हाफकाे छैटौं निमा लामाले गोल गरे । यस्तै १० औं मिनेटमा प्रकाश राना मगरले एक गोल गरे । १९ औं मिनेटमा निमा लामाले टिमकाे लागि दोस्राे गोल गर्दै फराकिलाे अन्तर बनाए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका निमा घोषित भए ।
यस्तै तेस्रो खेलमा बगर भाईखलक पोखराले ट्राईब्रेकरमा एनजेजे भिसी भेट्रान्सलाई हराउँदै क्वाटरफाइन प्रवेश गर्यो । पहिलाे हाफकाे दशौं मिनेटमा बागरभाइको तर्फबाट राजकुमार तामाङले गोल गर्दै अग्रता लिएका थिए । यसैगरी एनजेजे भिसी भेट्रान्सको तर्फबाट खेलको २९ औं मिनेटमा दिलकुमार कार्कीले जवाफी गोल फर्काए । निर्धारित समयमा दुवै समुहबाट एक/एक गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएकाे थियो । ट्राईब्रेकरमा बगरभाईले ४-३ गोल अन्तरले एनजेजे भिसी पराजित गर्यो । खेलको म्यान अफ द म्याच बगरका हिमाल थापा घोषित भए ।
यस्तै आजको चौथो खेल किङकम भेट्रान्स काठमाडौं र बुटवल भेट्रान्स बिच हुने तालिका रहेकाे थियाे । तर बुटवल भेट्रान्स खेलमा अनुपस्थित भएपछि किङकम भेट्रान्स विजयी भयो ।
प्रतियोगिता अन्तरगत शनिवारबाट क्वाटर फाइनलका खेलहरू हुनेछन् । शनिवारकाे पहिलो खेल दिउँसो १ बजे बानेश्वर भेट्रान्स र एबीसी भेट्रान्स बिच हुनेछ भने दोस्रो खेल बगर भाईखलक पोखरा र किङकम भेट्रान्स बिच दिउँसो २ बजे हुनेछ । यस्तै तेस्रो क्वाटर फाइनल खेल फ्रिडम फाइटर र नागस्वती भेट्रान्स बिच दिउँसो ३ बजे हुनेछ । यसै गरी चौथो खेल आयोजक हेटौडा भेट्रान्स र बौद्ध भेट्रान्स बिच हुने तालिका रहेको छ ।
हेटौंडा भेट्रान्स क्लबकाे आयोजनामा जारी प्रतियोगितामा पहिलो हुने टिमले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने टोलीले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

