मकवानपुर । “नागरिकको आवाज सदनसम्म” पदयात्रा कार्यक्रम लिएर राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य एवम् पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठसहितकाे टोली हेटौंडा आइपुगेकाे छ । रास्वपा शिक्षा विभागका केन्द्रीय सदस्य कृष्णहरि पाैडेलसहितकाे ६ जनाकाे टाेली पार्टीकाे ७ दिने उक्त अभियानकाे क्रममा शनिबार हेटौंडा आइपुगेकाे हाे ।
प्रतिनिधिसभा सदस्य श्रेष्ठले नागरिकको आवाज सदनसम्म पुर्याउन भन्दै ११ माघबाट वीरगन्जबाट सुरु गरेकाे यात्रा अन्तर्गत शनिबार हेटौंडामा आइपुगेकी हुन् । बारा र पर्सा जिल्ला हुँदै हेटौंडा आएकी श्रेष्ठ शनिबार नै चितवन जिल्लाको भण्डारा पुग्नेछिन् । जनप्रतिनिधि जनताको साझा भएकाले जनताको कुरा सुन्नु पर्ने तथा समस्या समाधान गर्नु पर्ने यात्राकाे क्रममा हेटौंडा आइपुगेकी उनले बताइन् ।
‘जनता र सदन टाढिएको महसुस भएकाे छ’ उनले भनिन् ‘भौगोलिकतासँगै पहाड, मधेशको समस्या फरक रहेकोले पनि जनताकाे समस्या बुझ्न अभियान सुरु गरिएको उनले बताइन् । जनता दलीयकरण र पार्टीकरणबाट आजित रहेको बताउँदै उनले कुनै पनि कानून संशोधन गरिदाँ कार्यान्वयनमा ल्याउन समस्या रहेको बताइन् ।
विकास निर्माणका संरचना भत्केपछि जनताले उठाएका समस्या समाधान नभएको, शिक्षकले तलब नपाएको, डाइभर्सनको समस्या समाधान नभएको, लालपुर्जा नपाएका समस्या समाधान गर्छु भन्दै जनप्रतिनिधिले आश्वासन दिने तर पूरा नगर्ने समस्या यात्राको क्रममा गुनासाे आएकाे उनले जानकारी दिइन् ।
पदयात्राकाे क्रममा जनताकाे गुनासाे लगायतका समस्या जस्ताकाे त्यस्तै सदनमा राख्नका लागि अभियान सुरु गरिएकाे पार्टीले जनाएकाे छ । हिउँदे अभिवेशनकाे प्रतिनिधि सभाकाे बैठकमा “नागरिकको आवाज सदनमा” राख्नकाे लागि याे अभियान गरिएकाे बताइएकाे छ । १७ माघ गते काठमाडाैं पुगी अभियान समापन गरिने छ ।

