मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । संघ अध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको निर्माण व्यवसायीकाे समूहले प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाललाई १४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
महासंघको पूर्वघोषित आन्दोलन कार्यक्रम अन्तर्गत प्रदेशका मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष कँडेलले जानकारी दिए । ज्ञापनपत्रमा सबै निर्माण कार्यको भुक्तानी गर्नुपर्ने, सरकारको म्याद थप आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट म्याद थप गर्नुपर्ने र रुग्ण ठेक्काहरू सुविस्ताका आधारमा अन्त्य गर्नुपर्ने माग गरिएको छ ।
सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित् इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ एवं कालोबजारी गरी पटक पटक सिमेण्ट, डण्डीमा मूल्यवृद्धि गरिएको र सो क्रम अहिले पनि जारी रहेकोले कालोबजारी गर्नेलाई कारवाहीकाे लागि कानूनी कारवाहीमा जाने ज्ञापनपत्रमा उल्लेख छ ।
निर्माण कार्य तीव्र रुपमा हुने सिजनमा सिमित सिमेण्ट तथा डण्डी उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत नियोजित तरिकाले कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेकाले उक्त मूल्यवृद्धि अविलम्ब खारेज गरिनु पर्ने समेत संघले माग गरेकाे छ । साथै निर्माण व्यवसायीहरूका लागि तत्काल शून्य भन्सार दरमा सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्रीको आयातको व्यवस्था हुनुपर्ने समेत माग गरिएकाे छ ।
यसैगरी व्यवसायीहरूकाे भौगोलिक आधारमा निर्माण कार्यको तालिका बनाउनुपर्ने, वर्षातमा निर्माण सामग्री उत्खननको व्यवस्था मिलाउनुपर्ने र मापदण्डमा आवश्यक परिमार्जन गर्नुपर्ने माग ज्ञापनपत्र मार्फत राखेका छन् । संघले ३ माघ देखि ७ माघसम्म विभिन्न राजनीतिक दल र सरकारी निकायमा आफ्ना मागबारे जानकारी गराउने जनाएको छ ।
यसैगरी १८ माघमा माइतीघर मण्डलामा र २० माघमा बालुवाटारमा धर्ना दिने कार्यक्रम घोषणा गरेको छ । माग पुरा नभए २१ माघदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाका ठप्प पार्ने र राष्ट्रिय गौरवका आयोजनासहित सबै निर्माण कार्य रोक्ने चेतावनी दिएको छ ।
हेर्नुहाेस ज्ञापनपत्रः

