मकवानपुर । शनिबार मकवानपुरको छुट्टा छुट्टै स्थानमा खोलाले बगाउँदा ३ जनाको ज्यान गएको छ । मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको शव फेला परेको छ । कैलाश गाउँपालिका स्थित विमिरे खोलाले बगाउँदा स्थानीय ३८ वर्र्षीय सोम सिङतान (धावा लामा) को मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ५ नम्बर वडाका वडाध्यक्ष छेकु लामाका अनुसार विहिबार खेतमा काम गर्न गएपछि नफर्केका लामाको शनिबार खोलामा शव भेटिएको हो ।
यसै गरी मकवानपुरको भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ । परिवार सहित मन्दिर गएका मध्यमा तीन जना नुहाउने क्रममा खोलाले बगाउँदा विरगंज घर भएकी हेटौंडा बस्ने १८ वर्षीया प्रियंका सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । त्रीखण्डी मन्दिर नजिकबाट बगाएर केही तल पुर्याएपछि सोनीको उद्दार गर्दा मृत अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै शनिबार नै हेटौंडा १९ मा पर्ने ज्यामिरे खोलामा महिलाको शव फेला परेको छ । आन्दाजी ४०-४५ बर्षीया एक महिलाको शव खोलामा फेला परेको हो। हाल सम्म शवको पहिचान भईनसकेको प्रहरी प्रवक्ता रानाले बताए ।

