मकवानपुर । बालिकालाई बलात्कार गर्ने १ जना युवकलाई मकवानपुर जिल्ला अदालतले जन्मकैदकाे फैसला सुनाएको छ । छोरी नाता पर्ने बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त युवकलाई ७ लाख रुपैयाँ जरिवाना र ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश समेत गरेको छ ।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको सोमबार बसेको इजलाशले मकवानपुरको बकैया गाउँपालिकाका २८ वर्षीय युवकले बालिकालाई पटक/पटक बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । छोरीलाई बलात्कार गरेको देखेपछि आमाले २०८० कात्तिक १ गते बाबुको विरुद्ध जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् ।
उजुरीको आधारमा प्रहरीले युवकलाई पक्राउ गरी हाडानाता जबर्जस्ती करणीमा अदालतमा मुद्दा दर्ता गर्दै जन्मकैदको माग दाबी गरेको थियो । अदालतद्वारा जन्मकैद तोकिएका युवक क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् ।

