मकवानपुर । सिविन नेपाल मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका ५ वटा वडामा बालबालिका सम्बन्धी गरिएको सर्वेक्षणको तथ्याङ्क सार्वजनिक गरेको छ । जिल्लास्थित सरोकारवाला निकायहरुको उपस्थितिमा सिविन मकवानपुरले हेटौंडाको १, ३, १०, ११ र १९ वडामा गरिएको स्थलगत आधारभूत घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क सावर्जनिक गरिएको हो ।
हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले बालबालिकाको सर्वेक्षणले बालमैत्री स्थानीय शासन अभियानलाई सहयोग पुग्ने बताइन् । स्थानीय सरकारले लिएको लक्ष्य पुरा गर्न समेत तथ्याङ्कले सहयोग पुर्याउने उनले जानकारी दिइन् । यसैगरि तथ्याङ्क सर्वेक्षण गरिएका वडाका वडाध्यहरु सविन न्यौपाने, ढोलक बहादुर थापा, जुना दाहाल, फुर्वा दोर्जे लामा, नरनाथ सुवेदीले आफ्नो वडामा बालबालिकाको विवरणलाई विश्लेषण गरि सो अनुसार कार्य योजना बनाइ काम गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा सिविन नेपालको तर्फबाट विषय विज्ञ भास्कर खनालले ५ वटा वडाको ९ हजार ८०१ घरधुरीमा गरिएको सर्वेक्षणको आधारभूत तथ्याङ्क सार्वजनिक गरेका थिए । ५ वटा वडामा बालबालिकाको संख्या १३ हजार ४५ जना, जन्मदर्ता भएका घरधुरी ५३ प्रतिशत, नागरिकता प्रमाणपत्र भएका घरधुरी ९५.३१ प्रतिशत, घरधुरीको औसत मासिक आम्दानी ३५ हजार रहेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै विद्यालय भर्ना भएका बालबालिका १० हजार ६०२ जना, भर्नादर ८१.२७ प्रतिशत, विद्यालय छाड्ने बालबालिका ३६७ जना, विद्यालय छाड्ने सम्भावना रहेका ८९ जना बालबालिका, अपांगता भएका बालबालिका १.२ प्रतिशत (११७ जना), अपांगता प्रमाणपत्र प्राप्त गरेका ३१ प्रतिशत बालबालिका, ७३ घरधुरीका बालबालिका बालश्रममा संलग्न जसमध्ये पूर्णकालिन समय काम गर्ने बालश्रमिक ६७ प्रतिशत रहेको, बालबालिका श्रममा जाने वा पठाउने सम्भावना रहेका २६ जना बालबालिका, बालविवाहको उच्च जोखिममा रहेका ५३ जना बालबालिका, अभिभावक विहिन तथा हाल बुवा आमाको साथमा नरहेका बालबालिका २५३३ रहेको खनालले जानकारी दिए ।
यसैगरी कुल विवाह मध्ये ८९ प्रतिशतको प्रमाण पत्र लिएका देखिएको छ । ६३९ जना शारीरिक तथा मानसिक समस्या भएको,४१९ घरधुरीमा शौचालय नरहेको पाइएको छ । यसका साथै खनालले वडागत रुपमा छुट्टाछुट्टै विश्लेषण गरिएको तथ्यांक प्रस्तुत गरेका थिए । सिविन नेपालले साप्लानीरसँगको साझेदारी हेटौडाको १, ३, १०, ११ र १९ वडामा शिक्षा र सामाजिक कार्य मार्फत बालश्रम न्यूनीकरण परियोजना संचालन भइरहेको सिविन नेपाल मकवानपुरका प्रवन्धक झबिन्द ज्ञवालीले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्षहरु, बालमैत्री सम्पर्क व्यक्ति एवम् वडा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष, बालमैत्री सहजकर्ताहरु, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, गैरसरकारी संस्था महासंघ मकवानपुर, नगर बाल सञ्जालका सदस्यहरु, साप्लानिरका सुजना श्रेष्ठ, सिविन नेपालका परियोजना ब्यवस्थापन कृष्ण तामाङ लगायतकाे उपस्थिति रहेको थियो ।

