मकवानपुर । मकवानपुरकाे २ भिन्नाभिन्नै स्थानमा भएकाे दुर्घटनामा ३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातोमाटेमा मोटरसाइकल र म्याजिक भ्यान आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । यसैगरी बागमती गाउँपालिका–७ हवाङखोलामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना १० प १०५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना १ ज ८४७५ नम्बरको म्याजिक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् भने म्याजिक चालक फरार रहेकाे छ ।
शनिबार भएकाे दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भीमफेदी गाउँपालिका–६, सिमलटारका १९ वर्षीय रविन तामाङ र मोटरसाइकलमा सवार मकवानपुरगढी गाउँपालिका–१ रानीशेराका २२ वर्षीय दावा लामा बम्जन गम्भीर घाइते भएको प्रदेश प्रहरीले जनाएकाे छ । टाउको र शरीरको विभिन्न ठाउँमा चोट लागेको रविन र दावाकाे हेटौंडा अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।
यसैगरी मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका–७ हवाङखोलामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक बागमती गाउँपालिका–८ का ४० वर्षीय दीपक बिश्वकर्मा घाइते भएका छन् । शनिबार मदन भण्डारी लोकमार्गमा फापरबारीबाट झुरझुरेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ त ४१५ नम्बरको ट्याक्टर र झुरझुरेबाट फापरवारीतर्फ जाँदै गरेको बा प्र ०३–००४ प ६३१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी टाउकोमा चोट लागेका दीपकलाई उपचारका लागि हेटौंडास्थित मकवानपुर सहकारी अस्पताल ल्याइएकाे थियो । शनिबार राती नै दीपकलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको र त्यहाँबाट पनि काठमाडौंस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्याक्टर र ट्याक्टर चालक बागमती गाउँपालिका–८ का ५१ वर्षीय सुनिल राईलाई नियन्त्रणमा लिएको छ ।

