मकवानपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ माधव पोख्रेललाई प्रदान गरिने भएको छ । साहित्य संगम मकवानपुर र युगप्रकाश क्लबले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कार मकवानपरे साहित्यकार पोखरेललाई प्रदान गरिने भएकाे हाे ।
१० हजार रुपैया राशिको सम्मान पोख्रेललाई प्रदान गर्ने निर्णय गरेको संगमले आइतबार विज्ञप्ति प्रकाशित गरी जनाएको छ । संगमका अनुसार १५ कात्तिकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा पोखरेललाई उक्त सम्मान प्रदान गरिने जनाएको छ ।
नेपाली साहित्यको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान प्रदान गर्दै आएको संगमले जनाएकाे छ ।
हेटौँडा–४ निवासी पोख्रेल मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हुन् । उनकाे नाटक ‘आकांक्षाको चिता’ (२०६९), कविता संग्रह ‘रित्तिएको गाउँ’ (२०७०) र नाटक ‘ऐनाभित्रको आकाश’ (२०७९) प्रकाशित छन् ।

