मकवानपुर । मकवानपुरको हेटौंडामा खुल्ला दौड प्रतियोगिता २०८१ हुने भएको छ । विजयी दशमीको अवसरमा १७ असोज घटस्थापनाको दिन पहिलो खुल्ला दौड प्रतियोगिता हुने भएको हो ।
दि रिभाइबल युथ क्लब हेटौंडा २ को आयोजना तथा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हुने दौड प्रतियोगिताको जानकारी मंगलबार दिइएको हो ।
हेटौंडा २ स्थित मनकामनाचोक देखि मकवानपुर गढी गाउँपालिका ४ स्थित मनकामना मन्दिरसम्म करिब ३ किमिको रन प्रतियोगिता हुने २ नम्बर वडाका अध्यक्ष विष्णु गोपाल महर्जनले जानकारी दिए ।
शुभकामना दौडको रुपमा लिइएको प्रतियोगिताले पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने उनले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: १० हजार ६ हजार र ४ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता खुल्ला भए पनि विभागीय टोलीमा सहभागी भएकाले भाग लिन नपाउने एथ्लेटिक्सका राष्ट्रिय निर्णायक राजाराम पोखरेलले बताए । एथलेटिक्सको नियम अनुसार हुने प्रतियोगितामा करिव ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगितालाई अर्को वर्षबाट निरन्तरता दिइने अध्यक्ष महर्जनले जानकारी दिए ।
सहभागीले मनकामनाचोकबाट मनकामना मन्दिर जाने स्लाब रोड हुदै दौडिनु पर्ने क्लब अध्यक्ष चन्द्र शाहीले बताए । स्लाब रोड बाहेक अन्य छोटो बाटोबाट कोही दौडिए उस्को सहभगिता रद्द हुने उनले जानकारी दिए । रोडको ब्लक बिन्दुमा स्वयंसेवक राखी त्यसको निरीक्षण गरिने समेत उनले बताए ।
वडाका जनप्रतिनिधि प्रतिनिधि, क्लबका प्रतिनिथी लगायतको उपस्थितमा प्रतियोगिताको जानकारी गराइएको हो । प्रतियोगितामा सहभागी हुनेले वडा कार्यालय, रिभाइवल क्लबको कार्यालयमा नाम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।

