चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा नागरिकलाई ध्यानमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ बताउनु भएको छ । उपचारलाई सेवाको रुपमा अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५ औँ वार्षिकोत्सव तथा २० औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गरिब तथा असहाय वर्गलाई प्राथकितामा राखेर सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थर्कीसँग अनुरोध गर्नुभयो ।
स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको र यसलाई कार्यन्वयनमा उतार्नको लागि गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व भएको पौडेलले बताउनु भयो ।
दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवं प्रभावकारी नवीनतम् प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिन उहाँले निर्देेशन दिनु भयो ।
“क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न तथा अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विशेष ध्यान पु-याउनु आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
क्यान्सर रोगबाट ग्रसित प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले विदेशमा गएर उपचार गर्नुपरेकाले स्वदेशमै यससम्बन्धी रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गर्नुभएको स्मरण गर्दै उहाँले २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो अस्पताल निर्माण भएको बताउनुभयो । भरतपुरस्तिथ राष्ट्रियस्तरको अस्पताल क्यान्सर रोगका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणका क्षेत्रमा पनि अगाडि बढेकामा उहाँले खुसी व्यक्त गर्ने भयो ।
क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लागौं : कार्यवाहक प्रम सिंह
नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । अस्पतालले गर्ने कार्यहरु नेपाल सरकारको नीतिअनुसार बिरामी मैत्री बन्नुपर्ने उहाँको भनाइ थियो ।
नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भावना हुनेगरी कार्य गर्ने सङ्कल्प र प्रतिबद्धता आएकोमा उहाँले धन्यवाद दिनुभयो । अस्पतालबाट प्रदान गरिने सेवाहरुको विस्तृत विवरण प्रतिवेदनका रुपमा सार्वजनिक भएबाट अस्पतालका कार्यहरु नेपाल सरकारका नीतिअनुसार बिरामी मैत्री भएकोमा उहाँले विश्वास प्रकट गर्नुभयो ।
अस्पतालमा सबै प्रकारका रोगको उपचारका लागि आवश्यक पर्ने लिन्याक र सिटी सिमुलेटरको उपकरण खरिद गर्न सरकारको तर्फबाट सक्दो पहल गर्ने उपप्रधानएवं सहरी विकासमन्त्री सिंहले जानकारी दिनुभयो । अस्पताल क्यान्सर रोगको उपचराका लागि विदेशीनु नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएकोले यसलाई अझै सशक्त बनाउन आवश्यक रहेको आफूले समेत महसुस गरेको उहाँले बताउनु भयो ।
सबल उपचार र बलियो मानसिकताले क्यान्सरमाथी बिजय संभव छ : प्रदेश प्रमुख देवकोटा
सोही कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अस्पताल देशको लाइफलाइन अस्पतालका रुपमा रहेको बताउनुभयो । क्यान्सरको उपचारका लागि प्रथम विन्दुका रुपमा रहेका बताउनु हुँदै उहाँले सवल र उत्कृष्ट उपचारले क्यान्सर रोग निको हुने बताउनुभयो । “अस्पतालले उत्कृष्ट सेवा बिस्तार र जनताले सहज उपचार पाउनुपर्छ” उहाँले भन्नुभयो ।
“नेपाली समाजमा क्यान्सरप्रति धेरै भय र सुरुवाती लक्षणहरुलाई बेवास्ता गरि अस्पताल जान नचाहने प्रवृत्ति छ, क्यान्सर र मृत्युलाई पर्यायवाची लिएर सजिलै निको हुने अबस्थालाई पनि मतलब नगरेको पाइन्छ” उहाँले भन्नुभयो “क्यान्सर भएको पत्ता लागेमा मानसिक तनाब र चिन्ताले स्वास्थ्य झनझन बिग्रेको अवस्था छ, निको हुन सक्ने स्टेजका बिरामी पनि मृत्युबरणको अबस्थामा पुग्छन् ।” यस्तो अवस्थाबाट बच्नको लागि सबल उपचार र बलियो मानसिकताले मात्र क्यान्सरमाथी बिजय प्राप्त गर्न सकिने उहाँले बताउनु भयो ।
“बी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गहन अत्याधुनिक सेवा सुबिधा, द्रुत परीक्षण, रोकथाम र जनचेतनामूलक कार्यक्रमको अपेक्षा राख्दछौ” उहाँले भन्नुभयो ।
“क्यान्सरसम्बन्धी जनचेतनामा जोड दिन सकियो भने यो खर्चिलो रोग बन्ने छैन” उहाँले भन्नुभयो “क्यान्सरको उपचारमा कसैको घरवारी र चेलीको गरगहना बेचिने अबस्था नआउने गरि सरोकारवाला सम्पुर्ण पक्षको ध्यान जानुपर्ने देखिन्छ ।”
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले नेपालमा रहेका क्यान्सर रोगका बिरामीमध्ये ५० देखि ६० प्रतिशतको उपचार यस अस्पतालमा हुने गरेको बताउनुभयो । बीस प्रतिशत नेपालका अन्य अस्पतलाहरुमा र २० प्रतिशत छिमेकी राष्ट्रसहित अन्य मुलुकमा उपचारका लागि जाने गरेको उहाँले जानकारी दिनुभयो । भविष्यमा यस अस्पताललाई ७०० शैयाको बनाउने योजना रहेको डा पौडेलको भनाइ छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १ लाख ६६ हजार २०० बिरामीले उपचार गराएको यस अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख ८८ हजार ५१४ जनाले सेवा लिएका छन् । जसमध्ये ६ हजार ७९५ नयाँ क्यान्सरका बिरामी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा २५ वर्षदेखि क्यान्सर रोग लागेर अहिले निको हुनुभएका बिष्णुप्रसाद पोडेल, अञ्जनी स्मृति अक्ष्यकोषका दाता तीर्थराज पराजुलीसहित चिनियाँ टोलीका लिडरलाई सम्मान गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले जनाकारी दिनुभयो ।
चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो । महामानव बिपी कोइरालाको स्मृतिमा २०४८ सालमा तत्कालीन प्रधानमन्त्री जिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सम्झौता भई यो अस्पताल स्थापना भएको हो । स्थापनाकालमा १०० शैया क्षमतासहितको क्यान्सर अस्पताल अहिले ५०० शैयामा विस्तार भएको छ ।