मकवानपुर । कवि यश लामाको ‘बहिष्कृत आवाज’ शनिबार हेटौंडामा सार्वजनिक गरिएकाे छ । लामाकाे पहिलो कविता कृति बहिष्कृत आवाजलाई मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी नेपाली, डा रामजी राम र सर्जक संजाल मकवानपुर संयोजक निमेष निखिलले सार्वजनिक गरेका हुन् ।
हेटौडामा बहिष्कृत आवाज विमाेचन वाचन र विमर्श कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएकाे हाे । लामाले १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ६ खण्डमा विभाजन गरी पुस्तककाे आकार दिएका हुन् । शिक्षण पेशामा आवद्ध लामाले कविता कृति मार्फत बहिष्करणमा परेका, पारिएका वर्गको आवाज बोल्ने प्रयास गरेका छन् ।
काठमाडौंको सांग्रीला बुक्सले बजारमा ल्याएको कविता कृति ‘बहिष्कृत आवाज’ माथि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष नेपाली र रामले टिप्पणी समेत गरेका थिए । कार्यक्रममा लामाले आफ्ना प्रतिनिधिमूलक कविताहरू वाचन समेत गरे ।
‘कोमल काव्यिक चेतनामा प्रतिरोधी स्वर सुसेल्ने युगसचेत कवि हुन् यश लामा । आफ्नोपनको महक बोकेका उनका कविताहरूमा शालिन विद्रोहको टड्कारो हुङ्कार पाइन्छ । नवीन बिम्ब, नवीन प्रतीक र नवीन काव्यिक शिल्पको निर्माणमा अघि बढ्दै गरेका लामा समयको क्यानभासमा क्रान्ति र विद्रोहको रातोपन पोत्न उत्सुक देखिन्छन्’ निमेष निखिल भन्छन् ।
कवि लामाका बारेमा एसके निधनले सामाजिक सञ्जालमा लेखेका छन् । `यश लामा सतही माटोको कविता लेख्दैनन् । माटो सुमसुम्याउछन, बासनाको स्वाद लिन्छन् र माटोको उर्वराशक्तिमा उर्जात्मकता थप्ने गरि कविता लेख्छन् । उनका कविता मान्छेमाथि हुँदैनन् । उनले ती अमान्छेमाथि बज्र हान्छन् जसले मान्छेलाई मान्छे हुन रोकिराखेका छन् ।´
अधिवक्ता तथा लेखक ऋषि केबी भन्छन् – `यश लामालाई चिनेको छु, सुनेको छु, पढेको छु । त्यसैले पनि ‘बहिष्कृत आवाज’ चेतना र बिद्रोहको त्यो क्रान्तिकारी छलाङ् हो भन्ने मेरो आधार र कारणसहितको ठोकुवा हो ।´