मकवानपुर । मकवानपुर प्रहरीले हेटौडा १५ बाट भन्सार छलि ल्याइएका १ करोड ३५ लाख मूल्य बराबरकाे कपडासहित २ जनालाई नियन्त्रणमा लिएकाे छ ।
२ असोजमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणकाे कपडासहित भारत, बिहार मोतिहारी,तुकालिया पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र बन्जरिया पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई नियन्त्रणमा लिएकाे हाे ।
हेटौडा १५ रातोमाटे चेकपोष्ट स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी टोलीले सुनसरीबाट हेटौडा हुँदै काठमाडौं जाँदै गरेको बीआर०५जीडी१३४३ नम्बरकाे भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले भन्सार बिल भन्दा कम २६४ बोरा आलु राखी ल्याएका थिए । जाँच गर्दा आलुका बाेराकाे भित्री भागमा लुकाई ७४ बोरा कपडा तथा बिभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एंव पाईन्टको कपडासहित ल्याएको भेटिए पछि ट्रक चालक आलम र सहचालक मियालाई नियन्त्रणमा लिएकाे हाे ।
भन्सार छलि ल्याईएका उक्त कपडा,आलुका बोराहरु गरी १ करोड ३५ लाख बराबरको सामाग्रीहरु बरामद गरी ट्रक र ट्रकका चालक तथा सहचालक समेतलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । उनीहरुलाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने मकवानपुर प्रहरीले जनाएकाे छ ।

