मकवानपुर । विदामा घुम्न जाने नेपालीहरुको संख्या पछिल्लो समय बृद्धि भएको छ । अझ लामाे विदाकाे समयमा केही हप्तादेखि महिनादिनसम्म पनि देश भित्रै घुम्न जानेहरुको संख्या बढिरहेको छ । त्यसो त घुम्नकाे लागि कुनै खास कुनै समय ताेकिएकाे हुँदैन तर समय र आर्थिक अवस्था हेरेर घुम्ने ठाउँ छनोट गर्न सकिन्छ ।
काम र व्यवहारकाे व्यवस्थापन गर्दै घुम्न जानकाे लागि दशैं तथा तिहारका विदा उपयुक्त हुन सक्छ । स्कुल कलेज र कार्यालयहरुमा लामाे समय विदा हुने हुँदा परिवारसहित वा साथीभाइकाे समूहमा समेत देश भित्र घुम्न जान सकिन्छ । नेपालीहरुको घुम्ने प्रवृत्ति बढेसँगै अन्य समयमा भन्दा दशैं तिहारकाे समयमा विभिन्न अफर सहितकाे प्याकेज विभिन्न संस्थाले ल्याएका समेत हुन्छन् ।
नेपालीहरुका घरदैलोमा दसैंसहितका ठूला चाडपर्व आइसकेका छन् । रोजगारी र काम सिलसिलामा देश विदेशमा रहेपनि दसैंमा जमघट भई रमाईलो गर्ने चलन छ । लामो समय विदा मिलेकाहरुलाई देशका विभिन्न ठाउँमा घुरेर रमाइलो गर्ने अवसर हुन सक्छ यो पटकको दसैं तिहार । परिवार र साथी भाइसहित दसैं विदामा घुम्न चहानेहरुका लागि देशभित्र अनेकौ उपयुक्त स्थानहरु छन् ।
हालैकाे अविरल वर्षाकाे कारण धेरैजसो स्थानका राजमार्ग तथा मार्गहरु अवरुद्ध भएकाेमा हाल डाइभर्सन बनाई यातायात संचालन गरिएकाे छ ।
लामाे विदामा तपाई पनि कहिंकतै घुम्न जाने योजनामा हुनुहुन्छ भने बागमती प्रदेश भित्रका केही स्थानहरुकाे यहाँ प्रस्तुत गर्दैर्छौं । यात्रा गर्दा सकेसम्म सडक र मौसमकाे पूर्व जानकारी लिएर मात्र यात्रा गर्नु उउपयुक्त हुनसक्छ ।
मकवानपुर
बागमती प्रदेशकाे राजधानी रहेकाे हेटौंडा मकवानपुरकाे सदरमुकाम हाे । प्रदेशकाे एक मात्र उपमहानगरपालिका रहेकाे हेटौडा भित्र सहिद स्मारक, चुरिया सुरुङ, मूर्ति बगैंचा हर्नामाडी, पुष्पलाल पार्क, कुस्माङ सरोवर एवं त्रिवेणीधाम, पुन्यक्षेत्र आश्रम, तपोवन, अग्निहोत्र आश्रम, मनकामना मन्दिर, बनस्खन्डी, पाथिभरा मन्दिर एवं आसपास क्षेत्र, बनकरिया होमस्टे, वन विज्ञान अध्ययन संस्थान एवं प्राकृतिक म्युजियम, हर्नामाडी गोरक्ष ताल, चरा, माछा एवम् सिमसारको अध्ययनका लागि माछापालन केन्द्र, बृन्दावन, जुरेथुम, गुहवारी गुफा, राजमार्ग हरित पार्क नेवारपानीलगायतकाे स्थान रहेका छन् । यसकाे अलावा विभिन्न गन्तव्यका हाइकिङ्ग रुट समेत रहेकाे छ । २ वा ३ दिनमा हेटौडा भित्रका यी स्थान घुमिसक्नु हुनेछ ।
मकवानपुरकाे एक मात्र नगरपालिका रहेकाे थाहा नगर पालिका क्षेत्र भित्र दामन, टिस्टुङ, सिमभन्ज्याङ जैविक क्षेत्र, दामन र टिस्टुङको बोटानिकल गार्डेन, दामन भ्यु टावर, दामनको लामोसिढी, सिम्भञ्ज्याङ्मा सूर्योदय र सूर्यास्त अवलोकन स्थल, मैत्री बगैंचा, राष्ट्रिय बिभूति पार्क, पालुङ उपत्यका, उनिउचौर, डाँडाबास क्षेत्र, गुराँस पदमार्ग, सुनगाभा पदमार्ग, कुलेखानी सर्किट, चिउरी पदमार्ग (सिलिङे) दामन– पालुङ सर्किट, चित्लाङ बाख्रा फारम, ऋषेश्वर मन्दिर एवम हाइकिङ मार्ग, दामन–पालुङ हाइकिङ मार्ग आदि । प्राचीन गोपाली गाउँ, विभिन्न मठमन्दिर, अशोक चैत्य, बाख्राको चिज उत्पादन केन्द्र, विभिन्न होमस्टे, प्राचीन गुर्जुधारा, विभिन्न झरना, भालेश्वर महादेव, चित्लाङ भ्यु टावर, नर्वे ढुङ्गालगायतका स्थान छन् ।
मनहरी गाउँपालिकामा मनहरी पिस पार्क एवं आमा घर, रमौली जङ्गल सफारी, देवकोट, रानिताल, लोथर–पुन्यक्षेत्र जैविक मार्ग, चुरिया रेन्ज, बफर जोन, मित्र बगैंचा (सालक पार्क) र आसपासका क्षेत्र रहेका छन् भने मकवानपुरगढीमा ऐतिहासिक गढी दरबारक्षेत्र, मनकामना मन्दिर धादिङगढी हाइकिङ रुट, गढी (मकवानपुर गढीदेखि सिन्धुलीगढी) रुट रहेकाे छन् ।
बकैया गाँउपालिकामा गौतम बुद्ध पर्यटन पार्क, धनेश्वर पार्क, बकैयाठाकुर पर्यटन पार्क रहेका छन् । बागमतीमा सहिद स्मारक, झुरझुरे, गेल्मे दरबार क्षेत्र छन् । मकवानपुरकाे पुरानाे सदरमुकाम भीमफेदी गाउँपालिकामा चिसापानीगढी, त्रिखण्डी मन्दिर, बुङ्दल झरनालगायत अन्य झरना, पाहापार्क, भीमफेदी बजार र हात्तिसार, गुराँस पदमार्ग, कुलेखानी देउराली भीमफेदी मार्ग, कालीतोप एवं बटुकभैरव मन्दिरलगायतका स्थान छन् ।
राक्सिराङ गाउँपालिकामा भिम्बुंग गुराँस पार्क, अशोक बाटिका, जलपरी झरना एवम् चमेरे गुफा, चेपाङ सङ्ग्रहालय, विभिन्न गल्छी महाभारत पर्वत शृङ्खला, खैराङको पर्वत, शिलिङ्गे चिउरी पकेट क्षेत्र एवम् पार्क, बगैंचा, मह हाइकिङ लगायतका स्थान घुम्न पर्ने स्थान छन् । कैलाश गाउँपालिकामा कैलाश बैकुण्ठ, देखरी पर्यटन पार्क, घैराङ पर्यटन पार्क रहेका छन् । इन्द्र सरोवर गाउँपालिकामा इन्द्र सरोवर ताल र आसपासका क्षेत्र, भालेश्वर, मोहिनी झर्ना लगायतका स्थान छन् ।

चित्लाङ्ग
मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ मा पर्ने चित्लाङ प्राकृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाले भरिपुर्ण छ । चित्लाङ गाउँमा यतिबेला जहाँ हेर्यो, त्यहीँ हरियो देखिन्छ । तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड । बनै हरियो, मनै हरियो । हरिलो, भरीलो र झरीलो मौसममा मकवानपुरको रमणीय पर्यटकीय गाउँ चित्लाङ झन् आलोकित भएको छ ।
चित्लाङमा शुक्रवार र शनिवारको विदा मनाउन जानेहरुको चहल–पहल बढेको छ । १–२ दिन नजिकैको शान्त, सुरक्षित र रमणीय ठाउँमा जान चाहनुहुन्छ भने मकवानपुरका अन्य स्थानका मानिसका लागि चित्लाङ उत्म विकल्प समेत हाे । काठमाडौ उपत्यकाबाट नजिककाे अन्तव्य समेत हाे चित्लाङ्ग । समुद्र सतहबाट १७ सय मिटर उचाइमा रहेको रमणीय गाउँ हाे चित्लाङ । देशको पहिलो बाख्राको दुधबाट चिज उत्पादन चित्लाङमै भएकाे हाे । राणाकालमा भिमफेदी हुँदै काठमाडौसम्म गाडी बोकेर चित्लाङकै बाटो हुँदै लगिएको थियो । सातधारा, अशोक चैत्य, भेडा फार्म, स्वच्छन्द भैरव मन्दिर चित्लाङको आकर्णहरु हुन । चित्लाङमा सुबिधा सम्पन्न होटल, रिसोर्ट तथा होमस्टेहरु प्रसस्त छन् ।
इन्द्रसरोवर ताल
तत्कालीन राजा वीरेन्द्र शाहको पालामा विद्युत उत्पादन गर्न पानी सञ्चय गर्ने लक्ष्यले जलाशय निर्माण भएको थियो । श्री ५ युवराज्ञी इन्द्र राज्यलक्ष्मीको सम्झनामा यसको नामाकरण गरिएको हो । अहिले कुलेखानी प्रथमबाट ६९ मेगावाट कुलेखानी दोस्राेबाछ ३२ र तेस्राेबाट १४ मेगावाट विद्युत उत्पादन हुदैं आएकाे छ । इन्द्रसरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो ।
इन्द्रसरोव ७ किलोमिटर दूरीमा फैलिएको छ । इन्द्रसरोवर मौसम अनुसार रंग बदल्न सिपालु छ । वर्षा मौसममा हिले रंगमा बदलिने ताल शरद ऋतुमा पात पतिंगर कुहिएपछि लेउ लाग्दा हरियो देखिन्छ । हिउँदमा खुलेको नीलो आकाशसँगै सरोवर फेरि नीलो हुन्छ । वरिपरि माथिल्लो भेगमा बस्ती तथा तल्लो भेगमा जंगलले घेरिएको सफा नीलो पानीको यस दहले यहाँ आइपुग्ने प्रायः आन्तरिक पर्यटकलाई मन्त्रमुग्ध पार्छ । शहरी कोलाहलबाट त्यहाँ पुग्ने सबैलाई यसको शान्त अवस्थिति, परिवेश र जंलले शीतलता र शान्तिको अनुभूति गराउँछ ।
पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको तालको पानी उपयोग गरी विद्युत् उत्पादन गरेकाले वीरगन्ज, विराटनगर, चितवन, बुटवल, पोखरालगायत क्षेत्रबाट यहाँ पर्यटक आउने गर्छन् । इन्द्रसरोवर नेपालीको जलविद्युतको लाइफलाइन मात्रै होइन एउटा सुन्दर पर्यटकीय स्थल पनि हो । यहाँ बाह्रैमहिना ढुंगा सयर गर्न पाइन्छ । जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको छ ।

दामन–सिमभञ्ज्याङ
मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ प्राकृतिक छाँटाले भरिपूर्ण छ । यहाँ हिउँदका बेला हिउँ पर्छ । त्रिभुवन राजथबाट दामन सिमभञ्ज्याङ पुग्न सकिन्छ । दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ४ सय ८८ मिटर उचाइ रहेको सिमभञ्ज्याङ र दुई हजार तीन सय २२ मिटर उचाइमा दामन रहेकाे छ । हेटौंडा, वीरगञ्ज, चितवन तथा काठमाडौं लगायत तराई क्षेत्रबाट दामन सिमभन्ज्याङ पुग्ने बग्रेल्ती भेटिन्छन् । दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो । दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गको मजा लिन सक्छन् ।
दामनमा सुविधासम्पन्न होटल र रिसोर्ट भएकोले आरामदायी बसाइको व्यवस्था छ । दामन क्षेत्रमा बौद्ध र हिन्दुधर्मालम्बीहरुको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिरमा हजारौं श्रद्धालु आउँछन् । ‘चिसो भनेकै दामन’ भनेझैं, दामन सिमभञ्ज्याङ क्षेत्र बार्है महिना चिसो रहने गर्छ, धेरैजसो गर्मि याममा चिसोपनको महसुस गर्न, भारत तथा नेपालको तराई क्षेत्रका मानिसहरु दामन पुग्ने गर्छन् ।
मोहिनी झरना
नाम जस्तै पुग्नेहरुलाई माेहनी लगाउने भएर राखिएकाे झरनाकाे नाम माेहनी झरना जहाँ पुगेपछि हामी मोहित हुन्छौं, जहाको सुन्दर्ताले मन फुरुङ हुन्छ । प्रकृतिसंग रमाउने व्यक्तिको लागि यो गन्तव्य निकै उत्कृष्ट मानिन्छ । इन्द्रसरोवर तालको मार्खुबाट डुङ्गा चढेर यहाँ पुग्न सकिन्छ । यसका अलवा थाहानगरको दामन सिमभन्ज्याङ घुम्न पुगेका पर्यटकहरु पनि दामन हुँदै यस झरनामा पुग्न सक्छन् भने चित्लाङको टौखेल नजिकैको शेरा बाट पनि यहाँ पुग्न सकिन्छ ।

सौराहा
चितवनकाे सौराहा पर्यटकीय गन्तव्य हाे । थारु संस्कृतिको अवलोकन, साँझ राप्ती र नारायणी नदीको दोभानमा सुर्यास्तको दृश्य, अनि जंगलसफारीका लागि प्रख्यात छ चितवन । यतिमात्र नभएर चराचुरुङ्गी अवलोकनाका लागि पनि चितवन उपयुक्त गन्तव्य हुन सक्छ । यो ठाउँ मयुर, च्याखुरा, पानी हाँस र चखेवाको वथानसहित अन्य चराहरुको बसोबासको थलो हो । शान्त र राष्ट्रिय निकुन्ज नजिकै भएकाले पनि यहाँ बाघसमेत हेर्ने मौका मिल्न सक्छ ।
चितवन स्वदेशी विदेशी दुवै खालका पर्यटकका लागि प्रख्यात छ । चितवनमा हरेक वर्ष आन्तरिक पर्यटकको आगमन पनि बढिरहेको छ । आन्तरिक र बाहृय पर्यटकको आगमनमा बृद्धि हुने क्रम जारी रहेपछि चितवनमा करोडौंको लगानीमा सुविधासम्पन्न होटल बनेका छन् । ६० भन्दा माथि हाेटल लज रहेकाे सौराहामा १ हजार देखि ७ हजारसम्ममा रुम उपलब्ध हुन्छ बास बस्नेहरुकाे लागि। बढी तीन दिन समय निकालेर घुम्न आउनेका लागि चितवन उपयुक्त स्थान हुन सक्छ ।

भोटेकोशी र त्रिशुलीमा र्याफटिङ
साहसिक जलायात्रा र्याफि्टङका लागि नेशनल जोग्राफी च्यानलले विश्वका दशौं उत्कृष्ट गन्तव्यमा भोटेकोशीलाई पनि राखेको छ । पछिल्लो समय भोटेकोशीमा जलयात्रा गर्ने आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ । छुट्टीको समयमा त्रिशुली र भोटेकाशी नदीमा र्याफटिड गर्न आउने क्रम बढेको छ । यी नदीमा बढीमा दुई दिने प्याकेजको व्यवस्था व्यावसायीहरुले गरेका छन् । भोटेकोशी र त्रिशुलीमा दिनभरी र्याफि्टङ गरेर साँझ आरम गर्न पनि सकिने व्यवस्था समेत छ ।
माथिल्लो भोटेकेाशी र तल्लो भोटेकोशीमा र्याफ्टिङको व्यवस्था गरिएको छ । र्याफ्टिङका लागि माथिल्लो भोटेकाशी तल्लो भन्दा साहसिक मानिन्छ । माथील्लो भोटेकोशीमा र्याफ्टिड गर्दा केही अफ्ठयारा भंगालाहरु भएकाले कम अनुभवीलाई तल्लो भोटेकोशी उपयुक्त छ । माथिल्लो भोटेकोशी २० किलोमिटरको रेको छ भने तल्लो भोटेकोशी १२ किलोमिटरको छ ।
त्रिशुलीमा नदिमा परिवारसहित र्याफ्टिङ गर्न सकिन्छ । त्रिशुलीमा विद्यार्थी र अन्य आन्तरिक पर्यटकहरु र्याफ्टिङका लागि आउने गरेका छन् । राजधानीबाट नजिकै र पहिलो पटक र्याफ्टिङ गर्नेलाई पनि यो नदि र्याफ्टिङका लागि उपयुक्त भएको व्यावसायीहरुको भनाई छ ।
रसुवा
रसुवा जिल्ला पर्यटकीय तथा व्ययापरिक हिसावले महत्वपूर्ण क्षेत्र हो । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको रसुवागढी समुद्र सतहदेखि करिब ६००० फिटको उचाइमा अवस्थित छ । पर्यटन गन्तव्यको हिसाबले यो जिल्ला अघि रहेको छ । ऐतिहासिक, पर्यटकीय महत्वको रुपमा गोसाईकुण्ड, ट्रेकिङका लागि लामलाङ क्षेत्र, नाग्थली, पार्वति कुण्ड र रसुवागढी रहेका छन् । काठमाडौँको सबैभन्दा नजिक पर्ने तिब्बततर्फको व्यापारिक नाका हो । यहाँबाट तिब्बततर्फको केरूङ बजार जान सकिन्छ ।
रसुवाको बाहिरबाट हेर्दा सानो र जीर्ण देखिने गुम्बाको भित्री भाग निकै आकर्षक र सुन्दर छ । वरीपरी हिमालको वीचमा हिउँले ढाकिएको बस्ती । बस्ती नजिकै मन शान्त बनाउने ७ सय वर्ष पुरानो आकर्षक गुम्बा । ऐतिहासिक तथा धार्मिकरुपमा धेरै महत्व भएपनि गुम्वा भने जीर्ण अवस्थामा रहेकाे छ । यो गुम्वामा बौद्ध धर्मावलम्बीहरुको गहिरो आस्था छ ।
नेपालमा आउने विदेशी पर्यटकहरुको तेस्रो रोजाईमा पर्छ लाङटाङ पदयात्रा । पर्यटकको रोजाईमा सगरमाथा र अन्नपूर्ण पदयात्रा पछि पर्छ, लाङटाङ पदयात्रा । हिमाली जनजीवन र हिमालको मनोरम दृश्यका लागि चर्चित छ, लाङटाङ पदयात्रा । त्यतिमात्र होइन, दूर्लभ हिमाली जन्तुहरुको मूख्य बासस्थलका रुपमा पनि परिचित छ, रसुवाको लाङटाङ क्षेत्र ।
चारहजार मिटर उचाईको क्यानजेन भ्याली रसुवाको अन्तिम गाउँका साथै पदयात्राको अन्तिम विन्दू पनि हो । जहाँबाट लाङटाङ हिमाल आँखा अगाडि मुस्काइरहेको हेर्न पाइन्छ ।
काठमाडौंबाट क्यानजेन भ्याली हुँदै पुन काठमाण्डौ आउन १० दिनको समय उपयुक्त हुन्छ । काठमाडौं देखि रसुवा सदरमुकाम धुन्चेसम्म बसको यात्रा पछि पैदलयात्रा सुरु हुन्छ । धुन्चेदेखि पाँच दिनको पैदलयात्रा पछि पुग्न सकिन्छ क्यानजेन भ्याली । पैदलयात्रामा पहाडी उकालो छिचोल्दै पाँचौ दिनमा बास बस्न क्यनजेन भ्याली पुगिन्छ ।
दोलखा कालिञ्चोक
रसुवाकाे कालिञ्चोक भगवती मन्दिर समेत घुम्न तथा धार्मिक पर्यटनकाे लागि उपयुक्त स्थानमा पर्ने गरेकाे छ । जति उकालो चढेपनि नपुगिने । हेर्दा नाक ठोकिएला जस्तो ठाडो उकालो । उकालोबाट उभो हेर्दा शिरको टोपी नै खस्ला भन्ने पिर । उकालो नकाटुन्जेल कतिखेर कालिञ्चोक पुगिएला भन्ने चिन्ताले सताउँछ । ठाडो उकालो काटेपछि जब कालिञ्चोक भगवती मन्दिर पुगिन्छ त्यसपछि सारा थकान कहाँ जान्छ, पत्तै पाइन्न । उचाईमा भएकाले यहाँ जाने क्रममा कतिपयलाई लेक लागेर समस्या हुन पनि सक्छ ।
कालिञ्चोक मन्दिर परिसरबाट देखिने चाँदीका लहर टल्काएर ठडिएका हिमालका मनोरम दृश्य देखेपछि जो कोहीले सबै दुख भुल्दछ । करिब चार हजार मिटर उचाईमा अवस्थित दोलखाको कालिन्चोक भगवती हिन्दू र बौद्ध धर्मावलम्बीहरुको गन्तव्यस्थलका रुपमा परिचित छ । गुराँस फुल्ने मौसममा यहाँको जंगलै रंगिएको हुन्छ । कुरीसम्म यात्रु र भक्तजनहरुलाई बास बस्न तथा खानपानको ब्यवस्था छ । कुरी भन्दा माथि करिब एकघण्टाको यात्रापश्चात पुगिने कालिन्चोक भगवती मन्दिर परिसरबाट लाङटाङ हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।

काठमाडौ उपत्यकाका
काठमाडौं
पर्यटकको पहिलो गन्तव्य काठमाडौँलाई खुल्ला सङ्ग्रहालयको रूपमा नै लिन सकिन्छ । काठमाडौँमा घुम्नको लागि विश्वसम्पदा सूचीमा परेका ७ वटा सम्पदाहरू रहेका छन् । यसले काठमाडौँ शहरलाई विश्वप्रसिद्ध शहरको रूपमा चिनाएको छ । यो नेपालको राजधानि हो यस ठाउँ भएर देशका विभिन्न पर्यटकीय स्थलहरुमा जाने गरिन्छ । यस ठाउँको प्रमूख तीर्थधामको रुपमा पशुपतिनाथ, गुहेश्वरी, स्वयम्भू, बौद्ध, बुढानिलकण्ठ, दक्षिणकाली, हनुमानढोका, गोकर्ण, टेकू, शालिनदी आदि हुन । यो ठाउँ प्राचीन कला, कौशल, संस्कृति, सभ्यता एवं ऐतिहासिक श्रोतको भण्डार पनि हो । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यसै क्षेत्रमा रहेको छ । आन्तरिक तथा वाह्य पर्यटकका लागि यो क्षेत्र पहिलो गन्तव्यको रुपमा रहेको छ । यहाँ घुम्नको लागि नागार्जुन, शिवपुरी, चन्द्रागिरी र किर्तीपुर उपयुक्त स्थान हुन ।
भक्तपुर
भक्तपुर जिल्ला एक धार्मिक, साँस्कृतिक, पूरातात्त्तिक तथा पर्यटकीय जिल्ला हो । ऐतिहासिक तथा सास्कृतिक रुपमा अब्ल रहेको भक्ततपुर आन्तरिक तथा वाह्य पर्यटकका लागि घुम्नलाई उपयुक्त गन्तव्य हो । भक्तपुर जिल्लामा भक्तपुर दरबार, नगरकोट, चाँगुनारायण मन्दिर, सूर्यविनायक मन्दिर, ठिमि दरबार क्षेत्रको पानोरोमिक, भुपति मल्लको शालिक, पचपन्न झ्याले दरबार, भैरवनाथ मन्दिर पर्यटकीय गन्तव्य हुनु ।
ललितपुर
ललितपुर एक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो । यहाँ पर्यटनको लागि घुम्ने स्थानहरु धेरै छन् । यस जिल्लामा घुम्नको लागि नजिको स्थल भनेको गोदावरी पार्क हो । यसका अलवा लाकुरी भन्ज्याङ बाट विहान को उदाउदो सूर्य तथा साझँको अस्ताउदो सूर्यको दृश्य हेर्ने सकिन्छ । काठमाडौँ उपत्यकाको भ्यू हेर्नको लागि यस स्थानमा टावर निमार्ण गरिएको छ । अर्को पर्यटकीय स्थल हो फुल्चोकीको डाडाँ यहाँबाट पनि दृश्यावलोकन गर्न सकिन्छ । विशेष रुपमा यो ललितपुरको सबैभन्दा अग्लो स्थान हो । यहाँ भ्यु टावर नभएपनि उपत्यकाको र हिमशृंखलाको राम्रोसँग अवलोकन गर्न सकिन्छ । यस्तै अर्को पर्यटकीय स्थल हो नल्लुको लभडाँडा र पाथीभराबाट पनि काठमाडौं उपत्यकाका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । यस्तै, दलचोकी अर्को यस्तो स्थान हो, जहाँबाट उत्तरतर्फ लहरै हिमशृंखला देख्न सकिन्छ । काठमाडौं उपत्यकाको दृश्यपान गर्न सकिने यस स्थानबाट दक्षिणतर्फ तराईको रौतहटदेखि वीरगन्जसम्म देख्न सकिन्छ । यो ललितपुरको सबैभन्दा उपयुक्त दृश्यावलोकन स्थल हो ।
चन्द्रागिरि
समुद्र सतहबाट दुई हजार ५ सय मिटरमा रहेको चन्द्रागिरि डाँडा भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा अहिले विकास भइसकेको छ । चन्द्रागिरि जानको लागि काठमाडौंको थानकोटदेखि केबुलकारको सुविधा उपलब्ध छ । यतिमात्र होइन, थानकोटबाट पदयात्रा गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ ।
विशेषगरी चन्द्रागिरि धार्मिक पर्यटन, दृश्यावलोकन र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छ। चद्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर पनि रहेको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यकालाई नियालेकाे इतिहास छ । उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि राम्रो गन्तव्य हो, जहाँ सुविधा सम्पन्न होटलसमेत रहेको छ ।
नगरकोट
काठमाडौंबाट करिव ३५ किमीको दूरीमा रहेको नगरकोट भक्तपुर जिल्लामा रहेकाे छ । रमणीय स्थल नगरकोट प्राकृतिक रुपले समेत सुन्दर छ । त्यसैले पनि धेरैको रोजाइमा पर्ने गरेको छ । समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटमा गर्मी मौसममा पनि चिसो वातावरण हुने गर्छ । राजधानीको भीडलाई छलेर मानिसहरु नगरकोट पुग्छन् । नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य पनि हेर्न सकिन्छ । यहाँ अत्याधुनिक होटेल–रिसोर्ट तथा होमस्टेको समेत सुविधा रहेको छ । त्यसैले परिवार तथा साथीभाईसँग रमाइलो गर्न नगरकोट जान सकिन्छ ।
फुलचोकी
समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको फुलचोकी काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो ठाउँ काठमाडौंदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ ।
फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका गगनचुम्बी हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँको अर्को आकर्षण वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् । फूलचोकीमा हिउँदको समय हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु जाने गरेका छन् । त्यहाँ फूलचोकी माईको मन्दिर पनि छ ।
शिवपुरी
समुद्री सतहबाट २ सय ५ सय ६३ मिटर उचाइमा अवस्थित शिवपुरी डाँडा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । काठमाडौंको उत्तरमा पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा अहिले धेरैको गन्तव्य स्थान बनेको छ ।
बूढानीलकण्ठको पानीमुहानबाट निकुञ्ज प्रवेश गर्दै शिवपुरी डाँडा जान सकिन्छ । घना वनमा उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमशृङ्खलाको सुन्दर दृश्य साथै काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ पारिवारिक सुविधासम्पन्न होटेल, रिसोर्ट तथा होमस्टेको सुविधा रहेको छ ।
सुन्दरीजल
काठमाडौंभित्र पर्ने अर्को घुम्न लायक गन्तव्य हो सुन्दरीजल । नाम जस्तै सुन्दर छ यो ठाउँ । काठमाडौंभन्दा अलिक माथि पर्ने यस ठाउँकोे वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा रहेको यस ठाउँलाई धेरैले आफ्नो घुम्ने गन्तव्य बनाएका छन् ।
सुन्दरीजल पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यो ठाउँ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दूरीमा रहेको यो ठाउँमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागि उचित सुविधायुक्त होटल, रिसोर्ट तथा होमस्टेहरु उपलब्ध छन् ।
लाँकुरी भञ्ज्याङ
ललितपुरमा रहेको लाँकुरी भञ्ज्याङ उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृङ्खला, गणेश हिमाललगायत हिमालहरु अवलोकनका लागि परिचित छ। साथै लाँकुरी भञ्ज्याङबाट उपत्यकाका तीनवटै शहरको विहंगम दृश्य देख्न सकिन्छ ।
चक्रपथबाट १३ किलोमिटर दूरीमा रहेको लाँकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै गएको छ । सल्ला, कटुस र लालीगुराँसको वन हुदै लाँकुरी भन्ज्याङ पुगिन्छ । प्याराग्लाइडिङ गर्न र सूर्योदय हेर्न पनि लाँकुरी भञ्ज्याङ उपयुक्त छ। यहाँ होटल, रिसोर्ट तथा होमस्टेहरु पनि प्रसस्तै छन् ।
गोदावरी
ललितपुरमा पर्ने गोदावरी चक्रपथकाे सातदोबाटो चोकबाट ७ किलोमिटर दूरीमा रहेको रहेकाे छ । गोदावरी प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि उत्तम गन्तव्य हो । ढकमक्क फुलेका फूल, विभिन्न जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ । गोदावरीमा स्वच्छ र स्फूर्ति प्रदान गर्ने हावा बहन्छ । पिकनिक र पारिवारिक रिफ्रेसका लागि गोदावरी उपयुक्त छ । जैविक विविधताको भण्डार र खुला संग्रहालयका रुपमा रहेको त्यस क्षेत्रमा बस्नको लागि आरामदायी होटल, रिसोर्ट तथा रेस्टुरेन्टको पनि सुविधा छ।
नुवाकोट दरबार
ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो नुवाकोटको साततले दरवार । यो दरबारको उचाइ ७५ फिट, लम्बाई ५० फिट र चौडाइ करिब ३९ फिट रहेको छ । धातुको छाना भएको यो दरबारका अरु सामग्री तेलिया इँटा र काठमा शूक्ष्म र विस्तृत कलात्मक शैलीमा कुँदिएको छ । झ्याल, ढोका, थाम, निदाल, दलिन, टुँडाल आदि काठबाट बनेका छन् । काष्ठकलामा भएको मार्मिकताले दरबारको सुन्दरतालाई मात्र बढाएको छैन, पुरातत्वको एउटा अनुपम उदाहरण पनि बनेको छ । दरवार परिसर करिब ९ सय ७० मिटर उचाईमा रहेको छ । जुन कारण दरवार परिसर प्राकृतिक भ्यु–टावर पनि बनेको छ । यहाबाट रानीपौवा, थानसिंङ फाट, ढिकुरेफाट, विदुर बजार, पिपलटार, बट्टार, सामरी भञ्ज्याङ, खड्क भञ्ज्याङ, जिलिङ लगायत दर्जनौ गाउँ र बस्तीहरु अवलोकन गर्न सकिन्छ । जुन गाउँ र भञ्ज्याङको बिचमा बग्ने त्रिशूली र तादी खोलाले सिगार दिएको छ । यहाँ पुग्न सरदमुकाम विदुरबाट ५ किलोमिटर नागवेली उकालो मोटरमा यात्रा गरेपछि नुवाकोट साततले दरवार पुगिन्छ ।

नुवाकाेटकाे ककनी
नुवाकोट जिल्लामा पर्ने ककनी काठमाडौं नजिकैको पर्यटकीय स्थल हो । काठमाडौंबाट ३२ किलोमिटर उत्तरतर्फ पर्ने ककनी ट्राउट माछाको स्वाद लिन चाहनेका लागि उत्तम हुन सक्छ । ककनी स्ट्रबेरीका लागि पनि प्रख्यात मानिन्छ ।
धेरैजसो मानिस ककनीसम्म पिकनिक मनाउन पुग्छन् । ककनीमा रात्री बसाइका लागि पनि सुविधायुक्त होटलहरू छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने गन्तव्य हो । यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरू छन् । यस्तै दक्षिणमा सिम भन्ज्याङ र दामन, पूर्वमा काठमाडौं उपत्यका, उत्तरमा गणेश हिमाल र थानसिंह फाँटको मनोरम दृश्य ककनीबाट देख्न सकिन्छ । समुद्र सतहबाट २ हजार २ मिटरको उचाइमा रहेको ककनी हरियाली वातावरणका कारण घुम्नका लागि उपयुक्त मानिन्छ।
काभ्रेकाे धुलिखेल
उपत्यकामा बस्नेहरुका लागि धुलिखेल अर्को गन्तब्य हो । होटेल–रिसोर्टको राम्रो सुविधा रहेको धुलिखेल सबै प्रकारका पर्यटकलाई सुविधा दिन सक्ने क्षमता राख्छ । धुलिखेल पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ।
महँगा होटेलदेखि आमसर्वसाधारणले समेत यहाँ बिदा मनाउन सक्छन् । यो ठाँउ परिवारिक घुमघामका लागि राम्रो मानिन्छ । सार्वजनिक यातायातको सुविधा उपलब्ध हुने धुलिखेल परिवारका साथ जाने मानिसका कारण सबै मौसममा व्यस्त देखिन्छ ।
नेवार जातिको परमपरागत प्राचीन बस्ती तथा हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिने बागमती प्रदेशको काभ्रे जिल्लामा अवस्थित धुलिखेल एक पर्यटकीय गन्तव्य हो । धुलिखेलबाट पूर्व केरियोलुङ र पश्चिममा हिमालचुलीका हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । काठमाडौँदेखि ३० कि.मि. पूर्वमा रहेको धुलिखेलमा हजारसिढि, पातलेखेत, पलाञ्चोक, नववुद्ध पर्यटकीय क्षेत्र हुन । यहाँ जानकोलागि काठमाडौँको रत्नपार्क बसपार्कबाट बिहान देखि साझ ६ बजे सम्म गाडि चढेर जान सकिन्छ ।

चिसापानी
चिसापानी काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमाना जोडिएको छ । काठमाडौं उपत्यकाबाट नजिकै भएकाले आन्तरिक र बाह्य दुवै थरिका पर्यटक चिसापानीमा पुग्ने गर्दछन् ।
वरिपरिका डाँडा देखिने रमणीय अग्लो स्थानमा रहेको चिसापानी समुद्री सतहबाट २ हजार २ सय मिटरमा पर्दछ । पर्यावरणीय सम्पदाले सुसज्जित र हिमश्रृङ्खलाले घेरिएको यस क्षेत्रमा पुग्ने जो कोहीको मन प्रफुल्लित भएर आउँछ ।
सगरमाथा, माछापुच्छ्रे, गौरीशंकर, अन्नपूर्ण, लाङटाङ, गणेश हिमालको दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौं फर्कन सकिन्छ। एक रात बास बस्ने हो भने सुविधायुक्त होटलहरू छन्। आफ्नो समयलाई स्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो। सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकनका लागि पनि चिसापानी उत्तिकै प्रख्यात छ।
सिन्धुली गढी
पर्यटकहरु जहिले पनि नयाँ कुरा र ठाउँमा आकर्षित हुन्छन् । आफुले नदेखेको ठाउँ पुग्ने पर्यटकहरुको इच्छा हुन्छ । कतिपय अवस्थामा पर्यटकहरुलाई कुनै ठाउको बारेमा बनाइएको गीत अथवा कुनै लेखकले लेखेको लेख र पुस्तकले पनि पर्यटकहरुलाई ती ठाउँमा घुमफिर गर्न मन लाग्छ । पर्यटनको लागि अन्तव्यको रुपमा रहेको सिन्धुली जिल्लाको सिन्धुली गढी ऐतिहासिक गढी यो । यहाँ बाट गढीको साथै तराईको मनोरम फाँट र उत्तरका हिमालको रमणीय दृश्य पनि हेर्न पाईन्छ । यहाँ पूर्खाको विरताको इतिहास हेर्न र गर्मी छल्न धेरै जसो आउने गर्दछन । यस ठाउँमा जानको लागि काठमाण्डौको कोटेश्वरबाट जिप, भ्यान, हाइस वा बस जान्छ । वीपी राजमार्गको सोलाभञ्ज्याङबाट गढी पुग्ने बाटोलाई स्तरीकरण गरिएको छ । अहिले सिँढी उक्लिएर १० मिनेटमा र आफ्नै सवारी साधन भए ५ मिनेटमा गढी पुग्न सकिन्छ ।

धादिङको रुवी भ्याली
धादिङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको रुवी भ्याली पर्यटन गन्तव्यका लागि उपयुक्त रहेको छ । तपाईसंग लामो विदाको समय छ भने एक पटक पुग्नुहोस । यो ठाउँ प्राकृतिक, धार्मिक, सास्कृतिक, साहसिक हिसावले निकै महत्वपूर्ण क्षेत्र हो । विशेष रुपमा यस ठाउँ टे«किङ गर्नका लागि उपउक्त छ । आँखै अगाडि टल्क टल्कने गणेश हिमाल तथा वरिपरि देखिने जल,जंगल ले यस ठाउँमा आउनेको मन नै परिवर्तित गराउँछ ।
सिन्धुपाल्चोक पाँचपोखरी
जुगल हिमालको फेदमा एकै ठाउँ पाँचवटा पोखरी ।सिन्धुपाल्चोक भोटाङमा अवस्थित समुद्री सतहबाट करीव ४ हजार ६० मिटरमा उचाइमा रहको छ यो ताल । नीलो आकाश र त्यसका बादलको प्रतिविम्बले पोखरीहरू आकर्षक देखिन्छन् ।
पाँचपोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ । जनै पूर्णिमाका दिन यो ताल आसपासमा ठुलो मेला लाग्ने गर्छ ।मेलम्ची बजारदेखि तीन दिनको पैदल यात्रा गरेपछि पाँचपोखरी पुग्न सकिन्छ ।
सिन्धुपाल्चोककाे भोटेचौर
‘मिनी इलाम’ को उपनामले चिनिएको भोटेचौरको चियाबगान धेरैको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन, तस्विर खिचेर आनन्द लिन समेत सिन्धुपाल्चोककाे भोटेचौर उपयुक्त स्थान हाे । पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । चावहिलबाट ३८ किलोमिटर टाढा रहेको भोटेचौरमा सुविधायुक्त होटल तथा रिसोर्टहरू पनि छन् ।
यहाँ प्रस्तुत गरिएका बाहेक समेत बागमती प्रदेशमा अन्य धेरै स्थानहरु घुम्न लायक छन् जुन विदाकाे लागि उपयुक्त हुन सक्छ । सामाजिक संजालबाट समेत धेरै कुरा जानकारी पाउन सकिने अहिलेकाे समयमा पर्यटकीय स्थलकाे पहिचान गरी विदाकाे समय सदुपयोग गर्न घुम्न जान सकिन्छ ।
घुमौं रमाऔ र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याऔं । पहिले देश घुमौं र पछि विदेश घुमौं । तर मौसमी तथा सडक तथा यातायातकाे अवस्थालाई ख्याल गर्दै घुमघामकाे समय तय गर्न अहिलेकाे समयमा राम्राे हुन्छ ।

