मकवानपुर । बागमती प्रदेश सरकारले सुर्यविनायक नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आइतबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सुर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको मेडिकल सामग्री तथा औषधीहरु हस्तान्तरण गरेका हुन् ।
अस्पतालबाट माग भए बमोजिम स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ती व्यबस्थापन केन्द्र हेटौंडाद्वारा सीप्याप मेसिन, बिप्याप मेसिन, हाइ फ्लो नोजल क्यानुला, प्यासेन्ट मनिटर, डेफिब्रीलाटर मेसिन, माइक्रो स्कोप, इसिजी मेसिनलगायत औसधिहरु अस्पतालका प्रमुख डा. राकेश कुमार वर्मालाई हस्तान्तरण गरिएको हो ।
मन्त्री थापाले सबै जनताको पहुँच स्वास्थ्यमा हुनुपर्ने बताए । स्वास्थ्य सामग्रीलाई पारदर्शी किसिमले नागरिकलाई सेवा दिनेगरी सञ्चालन गर्न उनले आग्रह गरे । ‘बिरामीको उपचारमा साना साना सामग्रीले ठूलो सहयोग पुग्ने भएकाले सामानको सही सदुपयोग गर्नुपर्नु पर्छ‘ उनले भने ।
कार्यक्रममा आपूर्ती केन्द्रका निर्देशक बसन्त अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख एवम् प्रवक्ता डा. खगेश्वर गेलाललगायत सहभागी थिए ।

