मकवानपुर । मकवानपुरकाे हेटौंडा अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार अस्पताललाई ८० थान पुस्तक हस्तान्तरण गरिएकाे हाे ।
समृद्ध समाज दैनिक र सचेत नागरिक युवा समूहले हेटौंडा अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको हो । अस्पताल भर्ना भएर उपचाररत विरामी र कुरुवालाई अध्ययनको अवसर प्राप्त होस् भनी पुस्तक हस्तान्तरण गरिएकाे युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले बताए । हेटौंडा अस्पतालको साधारण वार्ड र हाडजोर्नी वार्डमा २०/२० थान तथा बालबालिका वार्डमा ४० थान पुस्तक हस्तान्तरण गरिएको समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले जानकारी दिए ।
पुस्तक हस्तान्तरण पछि पठन संस्कृतिको विकास गर्न र विरामी र कुरुवाले पुस्तक अध्ययन गरेर सकारात्मक मनस्थिति विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सम्पादक श्रेष्ठले बताए । सम्पादक श्रेष्ठ र अध्यक्ष श्रेष्ठसहितको टोलीले हेटौंडा अस्पतालका निर्देशक प्राडा. धिरेन्द्र गिरी, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यद्वय उत्सव राज चौलागाई र हीरा वाईबाको उपस्थितिमा तीनवटै वार्डमा पुस्तक हस्तान्तरण गरेको हो ।
यसअघि समृद्ध समाज दैनिकको वार्षिकोत्सवको अवसरमा हेटौंडा अस्पतालको तीनवटै वार्डका लागि पुस्तक हस्तान्तरण गरिएको थियो ।

