मकवानपुर । १० भदौमा मकवानपुरकाे हेटौडामा रहेकाे होटलमा मृत अवस्थामा फेला परेकी एलिसा न्यौपानेको हत्याकाे मुख्य आरोपीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
हेटौंडा–१० बसपार्कस्थित रत्ना होटलमा हेटौंडा ११ की न्यौपानेलाई हत्या गरी फरार रहेका ३२ वर्षीय समिर खान भनिने चाँद खाँ पैठानलाई सोमबार मकवानपुर प्रहरीले पक्राउ गरेको हो । पैठानलाई सोमबार साँझ हेटौंडा–५ लट्टिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनलाई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेकाे भण्डारीले बताए ।
९ भदौमा पैठानसँगै बा ६४ प १३५ नम्बरको स्कुटर चढेर न्यौपाने बास बस्न उक्त होटल पुगेकी थिइन् । होटलका सञ्चालकले बिहान अबेरसम्म कोठामा बसेकी युवती नउठेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले जनप्रतिनिधि समेतकाे रोहोबरमा उक्त कोठा फोडी हेर्दा न्यौपानेको शव रगतले लतपत्तिएको अवस्थामा फेला परेको थियाे ।
घटना स्थलबाट शुरु भएको प्रहरीको अनुसन्धान एक हप्तापछि सफल भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ भदौ शनिबार समिरका ५५ वर्षीय आमा सैरुन खान, २६ वर्षीय श्रीमति रविना खातुन, ५६ वर्षीय ससुरा लालबाबु खाँ पैठान र ३० वर्षीय जेठान फैयाज अहमदलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको थियो । सोमबार साँझ घटनामा संलग्न मुख्य आरोपित चाँद खाँ पैठान पक्राउ परेसँगै प्रहरीले सार्वजनिक गरेको हाे ।

