मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत सोमबारकाे खेलमा पशुपति युवा क्लब र प्रगतिशील युबा क्लबले विजयी सुरुवात गरेका छन् ।
हेटौडा ६ स्थित गौरीटार रंगशालामा भएको पहिलो खेलमा पशुपति युवा क्लवले युनाइटेड नाईनलाई २-१ गोल अन्तरले पराजित गर्यो । यसैगरी उक्त रंगशालामै सोमबारकाे दोश्रो खेलमा एफसी पोताला र परेली युवा क्लवले २-२ को बराबरी खेलेसँगै अङ्क बाडेका छन्। हेटौडा ११ स्थित सिमलटार खेल मैदानमा भएकाे सोमबारकाे पहिलो खेलमा सहिद स्मृति र हाडिखोला युवा क्लवले गोलरहित बराबरी खेले । उनीहरुले बराबरी खेल्दै अङ्क बाडे भने दोश्रो खेलमा प्रगतिशील युवा क्लवले एफसी चाईनाक्वाटरलाई ७-० को गोलले पाखा लगायाे ।
लिग अन्तरगत मंगलबार ४ खेल खेलाईने भएकाे छ । सिमलटार खेल मैदानमा एफसी इन्टरनेट र एफसी बिजय युथ बिचकाे खेल दिउँसो १ बजे तथा हेटौंडा फुटबल एकेडेमी र न्यु डाफे बिचकाे खेल दिउँसो ४ बजे हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएकाे छ । यसैगरी गौरिटार रङगशालामा दिउासो १ बजे सक्षम युवा क्लव र आरआरएफसी बिच प्रतिष्पर्धा हुने छ । यस्तै दिउँसो ४ बजे रियल स्टार क्लव र महाबिर क्लव बिच खेल हुने भएकाे छ ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघले जनाएकाे छ । यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछी जिल्ला लिग हुन सकेको थिएन ।

