मकवानपुर । नेपाल सरकारले एसिड पीडित विन्दबासिनी कंसाकारको उपचारमा खर्च भएको रकम उपलब्ध गराउने निर्णय गरेकाे छ । अदालतकाे फैसला बमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलब्ध गराउने गरी निर्णय भएकाे सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।
उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा सोधभर्ना गर्ने व्यवस्था मिलाउने निर्णय गरेको आइतबार सिंहदरबारमा पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले १३ भदौ बिहीबारका मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै जनाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद कंशाकारको मुद्दामा जिल्ला अदालत मकवानपुरले फैसला सुनाएको छ भने उच्च अदालतमा विचाराधीन छ । २०७० सालमा उनी प्लस टु पढ्दै गर्दा भारतीय नागरिक दिलीप राज केशरीकाे एसिड आक्रमणमा परेकी थिइन् ।
यसैगरी सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेश्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ। त्यस्तै, मन्त्रीपरिषदकाे बैठकले एनसेलको नवीकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले चार किस्तामा विभाजन गरेर भुक्तानी गर्ने सुविधा दिने निर्णय गरेकाे छ ।
यससँगै, एकै पटक नवीकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको किस्ता भुक्तानी गर्दा बाँकी किस्ताबापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले व्याज र किस्ता रकमसमेत लिने निर्णय सरकारले गरेको छ । १३ भदौमा उल्लेखित निर्णयसहित १८ वटा निर्णय गरेकाे गुरुङले सार्वजनिक गरे ।
मन्त्रिपरिषद् निर्णय २०८१ भदौ १३

