मकवानपुर । मकवानपुर हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलबाट गोर्खा ब्वाइज विजयी भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेकाे लिगमा शनिबार चार खेल भएकाेमा अन्य तीन खेल भने बराबरी भएको थियाे ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एफसी इन्टरनेटलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै गोर्खा ब्वाइज विजयी भएको छ । गौरीटार रंगशालामा अर्काे खेलमा विजय युथ र परेलीबीचको खेल १–१ को बराबरीमा राेकियाे । यसैगरी हेटौंडा–११ स्थित सिमलटार खेल मैदानमा सक्षम युवा क्लब र हेटौंडा भेट्रान्स क्लबबीचको खेल वर्षाको कारण गोलरहित बराबरीमा स्थगित भएको छ । आरआर एफसी र एफसी इन्टरनेटबीचको खेल पनि १–१ गोलको बराबरी भएकाे थियाे ।
शनिबार भएका खेलमा विजय युथका सरोज राई, एफसी इन्टरनेटका अभिनाष भोम्जन र गोर्खा ब्वाइजका अनिल घलान म्यान अफ द म्याच घोषित भए । आइतबार लिगका ५ खेल हुने भएकाेमा विहानकाे खेल बर्षाकाे कारण स्थगीत गरिएकाे आयोजकले जनाएकाे छ । विहान ८ बजे सिमलटार खेल मैदानमा हेटौंडा भेट्रान्स र सक्षम युजा क्लव बीच हुने खेल स्थगीत भएकाे हाे । यस्तै आइतबार नै पिप्ले युवा क्लव र रियल स्टार क्लव , न्यु कम्वाइन क्लव र ७ नम्बर फुटवल क्लब बीच हुने आयोजकले जनाएकाे छ । यसैगरी गौरिटार खेल मैदानमा एफसी मल्टिभिजन र पदमपोखरी युथ क्लव तथा हटिया स्पाेर्टस र एसी नामटार बीच खेल हुने छ ।
१४ भदौबाट सुरु लिगको विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछी जिल्ला लिग हुन सकेको थिएन ।

